मोन्टीले दिए क्यानडाको मुख्य प्रशिक्षकबाट राजीनामा

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण
  • क्यानेडियन क्रिकेट संघले १५ अगस्टमा मुख्य प्रशिक्षकको आवेदन खुलाएपछि मोन्टी देसाईले सोसल मिडियाबाट छाडे पद

मोन्टी देसाईले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन् । मोन्टीले आसन्न विश्वकप लिग–२ मा नेपाल र ओमानविरुद्धको सिरिजआगाडि एक्कासि पदबाट हटेको सोसल मिडियाबाट जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत बिदाइको पुष्टि गर्दै धन्यवाद दिएका छन् । विश्वकप लिग–२ मा क्यानडाको चार खेल बाँकी छ । क्यानडा अहिले २५ अंकका साथ पाँचौँ स्थानमा छ । 

क्यानेडियन क्रिकेट संघले गत साता मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । १५ अगस्टमा प्रशिक्षक पदका लागि आवेदन खुला भएपछि मोन्टी पदबाट हटेका हुन् । मोन्टी र देसाईबिचको दोस्रोपटकको सहकार्य केवल तीन महिना मात्र रह्यो । क्यानडाले उनलाई गत मेमा दोस्रोपटक राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनले विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान र स्कटल्यान्डमा भएका दुई त्रिकोणात्मक सिरिजमा टोलीको जिम्मेवारी सम्हालेका थिए ।

क्यानडा अहिले सन् २०२७ एकदिवसीय विश्वकपको क्वालिफायर प्लेअफनजिक छ । मोन्टीले दोस्रोपटकको प्रशिक्षण अवधि छोटो रहे पनि अर्थपूर्ण भएको बताएका छन् । ‘योपटक छोटो समय थियो, तर यसलाई मैले अर्थपूर्ण रूपमा लिएको छु,’ मोन्टीले भनेका छन्, ‘क्यानडाको क्रिकेट विकास विश्वास र सामूहिक जिम्मेवारीबाट निर्माण भएको हो । आजको दिनसम्म मलाई सहयोग गर्ने खेलाडी, सहयोगी स्टाफ र यो यात्रामा साथ दिने सबैलाई धन्यवाद छ ।’

नेपाली क्रिकेटमा मोन्टी प्रसिद्धि कमाएका प्रशिक्षक हुन् । उनले नेपालको सिनियर टोलीमा मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए । चार वर्षअघि उनकै प्रशिक्षणमा नेपालले आइसिसी विश्वकप लिग–२ को तेस्रो स्थान रक्षा गर्दै विश्वकप क्वालिफायरमा स्थान बनाएको थियो । देसाईले नेपाललाई प्रशिक्षण दिनुअघि विश्वकप लिग–२ मा नेपाल कठिन मोडमा थियो । त्यसवेला नेपालको एकदिवसीय मान्यता गुम्ने अवस्था थियो । यसैबिच उनले नेपाललाई अविस्मरणीय रूपमा अन्तिम १२ मध्ये ११ खेलमा जित दिलाउँदै नेपालको विश्वकप ग्लोबल छनोटसँगै चार वर्षका लागि एकदिवसीयसमेत रक्षा गरेका थिए । 

नेपाललाई १० वर्षपछि विश्वकप पुर्याएका प्रशिक्षक
मोन्टीको प्रशिक्षणमा नेपालले सन् २०२४ को आइसिसी टी–२० विश्वकपको स्थान पक्का गरेको थियो । सन् २०१४ पछि नेपालले टी–२० विश्वकप खेल्दा १० वर्ष लगाएको थियो । दुई वर्षअघि अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको टी–२० विश्वकपमा नेपालले टेस्ट मान्यता राष्ट्रविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । दक्षिण अफ्रिकासँग अन्तिम ओभरमा नेपाल एक रनले चुकेको थियो । यस खेलमा विजयी दक्षिण अफ्रिकाको भन्दा नेपालको चर्चा विश्व क्रिकेटले गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान)सँगको आन्तरिक कारणले उनले पछिल्लो सिजन मात्र पदबाट राजीनामा दिएका थिए । मोन्टीसँग दुई दशकभन्दा बढीको अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभव छ । उनले आफ्नो करिअरमा नेपालबाहेक युएई र अफगानिस्तानका राष्ट्रिय टोलीलाई मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए । उनले तीन वर्ष नेपाललाई प्रशिक्षण गरेका थिए । 

नयाँ प्रशिक्षकको खोजीमा क्यानडा
मोन्टी प्रशिक्षकबाट बाहिरिएलगत्तै क्यानडाले आगामी विश्वकप लिग–२ का लागि नयाँ प्रशिक्षकको खोजी गरेको छ । क्यानडाले आगामी २८ अगस्टसम्म नयाँ प्रशिक्षकका लागि आवेदन दिन सकिने जनाएको छ । क्यानडाले विश्वकप लिग–२ को अर्को सिरिज आगामी ९ अक्टोबरमा ओमानमा खेल्ने तालिका छ । जहाँ उसले ओमान र नेपालको सामना गर्नेछ । दोस्रोपटकको कार्यकालमा क्यानडाको क्रिकेट निकै कठिन र विवादित बनेको छ । सन् २०२६ को टी–२० विश्वकपमा क्यानडाले आफ्ना सबै चार खेल गुमाएको थियो ।

क्यानडा र न्युजिल्यान्डबिचको खेलमा म्याच फिक्सिङ भएको आशंकामा आइसिसीको एन्टी–करप्सन युनिटले अनुसन्धान सुरु गरेको छ । यसैगरी, आइसिसीको सदस्यतासम्बन्धी नियमको गम्भीर उल्लंघन गरेको भन्दै आइसिसीले गत मेमा क्यानडालाई दिने बजेट रोक्का गरेको थियो । अहमदाबादमा भएको आइसिसीको बैठकले क्रिकेट क्यानडाको एसोसिएट सदस्यता नै निलम्बन गर्यो । अहिले पनि क्यानडाको बोर्ड निलम्बनमै छ । क्यानडाले सदस्यता फिर्ता लिन आइसिसीका सर्त पालना गर्नुपर्नेछ । 

See More On

सुझावित समाचार