अध्यक्ष केपी ओलीले पार्टी कार्यालयआसपास भेला भएर छलफल गर्ने कार्यकर्तालाई ‘आवारा’को संज्ञा दिएपछि त्यसको असर केन्द्रीय कार्यालय च्यासलमा देखिन थालेको छ । राजधानी प्रदेश कमिटीका अध्यक्ष मिलन धरेल बुधबार मध्याह्न १२ बजेअघि केन्द्रीय कार्यालय च्यासल पुगेका थिए । अरू कोही देखेनन् र एक–डेढ घण्टा कार्यालयपरिसरतिरै टहलिए ।
केन्द्रीय कार्यालयमा अध्यक्षदेखि सबै पदाधिकारीको कार्यकक्षमा ताला झुन्डिरहेका थिए । नेताहरूको खासै उपस्थिति नदेखिएकै कारण आफू लामो समयदेखि परिसरतिरै टहलिएको अनुभव सुनाएर उनी बाहिरिए ।
पौने १ बजेसम्म मुस्लिम इत्तेहाद संघका नेता मोहम्मद हारुन अर्का एक पार्टीकै ‘कमरेड’लाई लिएर महासचिव शंकर पोखरेललाई भेट गर्ने पर्खाइमा थिए । अरू कार्यकर्ताको चहलपहल थिएन ।
कार्यालय खुलेदेखि मध्याह्नसम्म एमाले कार्यालयमा केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीबाहेक नेता प्रदीप ज्ञवाली, प्रचार विभाग प्रमुख नीरज आचार्य, संगठन विभागका सचिव आरसी लामिछाने र सीमित कर्मचारीहरू मात्रै भेटिए ।
एमाले अध्यक्ष ओलीले पार्टी कार्यालयको क्यान्टिनमा चिया खाने नेता–कार्यकर्तालाई आवाराको संज्ञा दिएपछि आक्रोशित पार्टी पुनर्गठन पक्षधर नेता–कार्यकर्ताले सामाजिक सञ्जालबाट सांकेतिक विरोधमा देशैभर ‘आवारा अभियान’ चलिरहेको दाबी गरेका छन् । तर, पार्टी कार्यालय भने भावशून्यजस्तै देखियो ।
केन्द्रीय कार्यालय सचिव डा. अधिकारीले कार्यक्रम नभएका कारण पार्टी कार्यालयमा नेता–कार्यकर्ताहरूको चहलपहल नदेखिएको अनुभव सुनाए । ‘चहलपहलै नदेखिएको भन्ने त होइन, कार्यक्रम नभएको दिन छिटपुट मात्रै कार्यकर्ताहरू आउनुहुन्छ,’ उनले भने, ‘कोही क्यान्टिनतिर त कोही कार्यकक्षतिर रहने भएकाले परिसर सुनसान भएको हुन सक्छ ।