बुधबार १० बजेसम्मका मुख्य १० खबर

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्र संघको महासभामा प्रधानमन्त्री शाह नजाने, परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल पठाउने निर्णय 
संयुक्त राष्ट्र संघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह नजाने भएका छन्। महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने निर्णय भएको छ। 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताका लागि स्वीकृति प्रदान गरेको छ। राष्ट्र संघको ८१औँ महासभा २२ देखि २८ सेप्टेम्बरमा अमेरिकामा हुँदै छ। 

मन्त्रिपरिषद्का १० निर्णय : सचिव बढुवादेखि शिक्षकको पारिश्रमिक वृद्धिसम्म 
बुधबार बसेको मन्त्रिपरिषद्का १० निर्णस सार्वजनिक गरिएको छ । बैठकले सचिव बढुवादेखि शिक्षकको पारिश्रमिक वृद्धिसम्मका निर्णय गरेको छ। 

बैठकले सहसचिव कमल भट्टराईलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। 

त्यस्तै, सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा विद्यालय जनशक्तिको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।

मोबाइलको कभर फेर्दा प्रहरीका सइलाई १० लाखको करदाता प्रोत्साहन बम्पर उपहार 
करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन्। उनी प्रहरीका सइ भएको खुलेको छ । 

आन्तरिक राजस्व विभागले  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो । साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक–एकजना र सबै सहभागीमध्येबाट छनोट गरिएको एकजनालाई बम्पर गरी १७ जना उपभोक्ता छनोट गरिएको थियो । त्यसैमध्येका बम्पर उपहार पुडासैनीले जितेका हुन्। उनी  नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत छन्। 

साउनमा इतिहासकै बढी ग्यास आयात
नेपाल आयल निगमले गत साउन महिनामा इतिहासकै धेरै एलपी ग्यास आयात गरेको छ। साउनमा ५७ हजार ३१६।३८ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ।

निगमका अनुसार गत वर्ष चैतमा ३८ हजार ७९९।४५ मेट्रिक टन ग्यास आयात भएकोमा वैशाखमा ३२ हजार ५६।४४ मेट्रिक टनमा सीमित भएको थियो। त्यसपछि लगातार सो परिमाण बढेको देखिन्छ।

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या  
जितपुर–सिमरा उपमहानगरपालिका– १, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ। गत साउन ३१ गते बिहान करिब ८:३० बजे घरबाट बेपत्ता भएकी गरिमा चौधरी मंगलबार साँझ जितपुर–सिमरा– १, भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्। 

मन्त्रीहरू र मुख्यसचिवसँग प्रधानमन्त्रीले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरू र मुख्यसचिव गोविन्दबहादुर कार्कीले चालू आर्थिक वर्षमा गर्ने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान–प्रदान भएको हो। सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

स्वदेशी उत्पादन र सेवाको प्रयोगलाई प्राथमिकता दिन सरकारी कार्यालयलाई प्रधानमन्त्रीको निर्देशन 
प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी उत्पादन र सेवाको खरिद र प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।  हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध  भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सरकारको कार्यशैली नसच्चिए मधेशका सांसदले छठपछि पिटाइ खान्छन् : अमरेश सिंह 
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमेरशकुमार सिंहले सरकारको कार्यशैलीसँग मधेशका जनता असन्तुष्ट रहेको बताएका छन्। बुधबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले कार्यशैली नसच्चिएमा छठपछि मधेशका रास्वपा सांसदले जनताको कुटाइ खाने उनको चेतावनी छ ।  

कांग्रेस विवाद- देउवापक्ष पुनः अदालत जाने
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै नेपाली कांग्रेस संस्थापन इतरपक्ष (शेरबहादुर देउवापक्ष) अदालत जाने भएको छ । आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको वेला महाधिवेशनको प्रक्रिया अघि बढाउन नमिल्ने इतरपक्षको दाबी छ । 

लागुऔषध कारोबारीसँग एक करोड १५ लाख भेटिएपछि सम्पत्ति शुद्धीकरण मुद्दा दायर 
पसलको आवरणमा लागुऔषधको कारोबार गर्ने एक व्यक्तिसँग एक करोड १५ लाखको स्रोत नखुलेको सम्पत्ति फेला परेको छ । कारोबारी युवक, उनकी आमा तथा अवैध पैसा लुकाउन सघाउने एक महिलासहित तीनजनाविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता गरेको छ । 

सिन्धुपाल्चोकको साँगाचोक घर भई काठमाडौंको स्वयम्भू बस्ने ४२ वर्षीय कुमार लामा, उनकी ६५ वर्षीया आमा ओमकुमारी तामाङ र उनीहरूको पैसा लुकाउन सहयोग गर्ने नागार्जुनकी ३३ वर्षीया सपना भण्डारीविरुद्ध लागुऔषधका साथै सम्पत्ति शुद्धीकरणको मुद्दा मंगलबार काठमाडौं जिल्ला अदालतमा दायर भएको हो । 

सुझावित समाचार