सल्यानको बनगाड कुपिन्डे नगरपालिका– १, बांगिरहनजिकै भेरी नदीमा जिप दुर्घटनामा परी बेपत्ता भएका २३ वर्षीय हेमराज बुढाथोकीको शव सात दिनपछि फेला परेको छ।
जिप दुर्घटनापछि बेपत्ता भएका सल्यान कुमाख गाउँपालिका– ५ का गाडीचालक हेमराजको शव सुर्खेतको बराहताल गाउँपालिका– ४, तरंगा घुमाउनेनजिकै भेरी नदीमा फेला परेको हो। शव फेला परेको केही समयपछि आफन्तले पहिचान गरेपछि मृतक हेमराज बुढाथोकी रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बुढाथोकीको शव पोस्टमार्टमका लागि सुर्खेतमा राखिएको छ।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत बांगिरहनजिकैबाट लु.१ज ३०२२ नम्बरको जिप भेरी नदीमा खसेको थियो। बालुवा संग्रहीबाट सल्लीबजारतर्फ फर्किने क्रममा जिप सडकबाट करिब ५० मिटर तल भेरी नदीमा खसेपछि जिपसँगै चालक र जिपधनी बेपत्ता भएका थिए।
दुर्घटनामा जिपसँगै बेपत्ता भएका जिपधनी भीमबहादुर रानाको अवस्था भने अझै अज्ञात छ। उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ।
दुर्घटनामा जिपमा सवार बनगाड कुपिन्डे नगरपालिका– १, आपखोलीका २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी भने घाइते भएका थिए। उनीहरू भेरी नदीबाट पौडिएर बाहिर निस्कन सफल भएका थिए।
जिप दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोरको टोलीले लगातार खोजी तथा उद्धार कार्य गर्दै आएको थियो। भेरी नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका कारण खोजी चुनौतीपूर्ण बनेको छ।