मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

रेडक्रसको जग्गा खरिदमा अनियमितता, १० वर्षपछि सिआइबीद्वारा तत्कालीन अध्यक्षसहित पाँच पक्राउ

नेपाल रेडक्रस सोसाइटीले १० वर्षअघि जग्गा खरिद गर्दा अनियमितता गरेको अभियोगमा प्रहरीले छानबिन थालेको छ। सिआइबीले तत्कालीन अध्यक्ष संजीव थापासहित पाँचजनालाई पक्राउ गरेको छ। 

२०७३ सालमा गोदामघर स्थापनाका लागि भक्तपुर नगरपालिकाको वडा नम्बर ४ मा जग्गा खरिद गरिएको थियो। ५ रोपनी १३ आना तीन पैसा जग्गा ६ करोड ३२ लाख ८१ हजारमा खरिद गरिएको थिये। सो जग्गा खरिद गर्दा एक करोड ९३ लाख बिचौलियाले लिएका थिए। साथै, जग्गा नापजाँच गर्दा खरिद गरिएकोभन्दा सात आना कम देखिएको थियो। यससम्बन्धी छानबिन प्रतिवेदन महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाइकामा सोही प्रतिवेदनका आधारमा अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताए। 

सुनसरी र सिराहाका सिडिओसहितलाई कारबाही सिफारिस

गत महिना भएका साम्प्रदायिक घटना नियन्त्रणमा कमजोरी देखिएको भन्दै सुनसरी र सिराहका सिडिओलाई कारबाही सिफारिस भएको छ । गृह मन्त्रालयले गठन गरेको दुई समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाउँदै सिडिओ तथा सुरक्षाकर्मीलाई कारबाही सिफारिस गरेको हो । 

सुनसरीका तत्कालीन सिडिओ बासुदेव घिमिरे तथा सिराहाका सिडिओ सुरेन्द्र पौडेललाई कारबाही स्वरुप सचेत गराउन सिफारिस गरिएको छ । सुनसरीका सिडिओ ११ साउनमै सरुवा भइसकेको छ भने सप्तरीमा भने पौडेल नै कायम छन् । साथै, गोली प्रहारको घटनामा संलग्न प्रहरीमाथि पनि कारबाही सिफारिस भएको छ । 

थाइल्यान्डबाट आएका आठ विदेशी ३९ केजी गाँजासहित पक्राउ

थाइल्यान्डबाट गाँजा लिएर आएका आठ विदेशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पाँच म्यान्मार र तीन भारतका नागरिकलाई पक्राउ गरेको हो। 

उनीहरू थाई र बटिक एयरमार्फत आएका उनीहरूलाई शंका लागि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थाई गाँजा बरामद भएको हो। सो गाँजा भारत तस्करी गर्न लागिएको आशंका गरिएको छ। 

थाइल्यान्डबाट गाँजा तस्करीमा बारम्बार भारतीय पक्राउ पर्दै आएका छन्। भारतीय गिरोहले म्यानमारका नागरिकलाई पनि प्रयोग गर्न थालेको खुलेको छ। 

कांग्रेसको विभिन्न तह र निकायको अधिवेशन कार्यतालिका परिमार्जन

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औं महाधिवेशनअन्तर्गत विभिन्न तह र निकायको अधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ।

निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुने गरी तय भएको १५औं महाधिवेशनका लागि सोमबार विभिन्न तह र निकायको अधिवेशनको परिमार्जित क्यालेन्डर सार्वजनिक गरेको हो।

पार्टीभित्र संवाद र सहमतिको वातावरण बनाउन तथा वर्षातको मौसमका कारण प्रतिकूल प्रभाव पार्नसक्ने भनी तहगत कार्यसमितिबाट आएको सुझावका आधारमा कार्यतालिका परिमार्जन गरेको निर्वाचन समितिले जनाएको छ।

हेटौँडामा खोलाले बगाएकाे एक बालिकाको मृत्यु, दुई अझै बेपत्ता

हेटौँडा उपमहानगरपालिका– १९ स्थित बासुदेव खहरे खोलाले बगाएका चार बालिकामध्ये एकजनाको मृत्यु भएको छ भने दुईजना अझै बेपत्ता छन्। एक बालिका सकुशल फेला परेकी छिन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार साँझ करिब ५ः५५ बजे निर्मल माध्यमिक विद्यालय, बस्तीपुरबाट घर फर्किने क्रममा बासुदेव खोलामा बनेको लच्का तर्ने वेला अचानक आएको भेलले चार बालिकालाई बगाएको थियो।

कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य देउवा पदमुक्त

नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। सभामुख भीमबहादुर भण्डारीले लामो समयदेखि प्रदेश सभा बैठकमा अनुपस्थित देउवालाई पदमुक्त गर्ने निर्णय मंगलबार गरेका हुन्।

देउवा करिब ११ महिनादेखि अमेरिकामा बस्दै आएका छन्। उनी जेन-जी आन्दोलनलगत्तै अमेरिका गएका थिए। प्रदेश सभा सचिवालयका अनुसार देउवालाई पदबाट हटाउने निर्णयको जानकारी सभामुख भण्डारीले बुधबार बस्ने प्रदेश सभा बैठकलाई गराउनेछन्।

सभापति थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैककले सभापति गगन थापाको संयोजकत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ।

२४ साउनदेखि १ भदौसम्म केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १५औं महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने निर्णय गरेको हो।

यसैगरी, पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा महाधिवेशन प्रचारप्रसार समिति र महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय कांग्रेसले गरेको छ।

प्रधानमन्त्री शाह र भारतीय स्थलसेनाध्यक्ष सेठबिच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय सेनाका स्थलसेनाध्यक्ष धीरज सेठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् । 

उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका थिए । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । 

जाजरकोटका पहिरो विस्थापित सेल्टरमा फैलियो ज्वरो र रुघाखोकी

जाजरकोटको भेरी नगरपालिकाका वडा नं २ र ३ का विद्यालयमा आश्रय लिएर बसेका पहिरोबाट विस्थापित नागरिकमा ज्वरो र रुघाखोकी देखिन थालेको छ। पहिरोका कारण घरबारविहीन भई विद्यालयमा आश्रय लिइरहेका ६९१ जनामध्ये केहीमा स्वास्थ्य समस्या देखिएको हो।

विस्थापित सेल्टरमा ज्वरो र रुघाखोकी फैलिन थालेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए। मंगलबार स्थलगत अनुगमनमा गएका प्रजिअ अधिकारीले प्रभावितहरु बिरामी पर्न थालेको बताए। सोमबार भेरी नगरपालिका र कर्णाली प्रदेश अस्पताल, सुर्खेतबाट खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले सोमबार ९० जना विस्थापितको स्वास्थ्य परीक्षण तथा उपचार गरेका थिए। 

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट भोलि विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि बुधबार दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। नेकपा सुदूरपश्चिम संसदीय दलका नेता भट्ट गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए।

मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिनेबारे छलफल भएको थियो। मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गर्ने निर्णय बैठकले गरेको नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले जानकारी दिए।

सुझावित समाचार