दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले आफ्नो उत्तर कोरियासँग प्राविधिक रूपमा अझै जारी युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने विषयमा वार्ताको प्रस्ताव गरेका छन् । दुई देशबिच तनाव बढिरहेका बेला राष्ट्रपति जे–म्युङल वार्ता प्रस्ताव गरेका हुन् । राष्ट्रपति म्युङले ‘सैन्यविहीन क्षेत्र’का रूपमा चिनिने दुई देशबिचको वास्तविक सिमानामा तनाव बढ्न नदिन ‘बहुतहको सुरक्षा प्रणाली’को सुझाव दिए ।
उनले प्योङयाङको आणविक महत्वाकांक्षा रोक्ने व्यावहारिक उपायबारे छलफल गर्ने प्रस्ताव पनि अघि सारेका छन् । उत्तर कोरियाले आणविक हतियार बोक्न सक्ने क्षमताका ब्यालिस्टिक क्षेप्यास्त्रहरूको निरन्तर परीक्षण गर्दै आएको छ । सियोल र नजिकैको जापानले उत्तरका गतिविधिलाई आफ्नो शक्ति प्रदर्शन गर्ने प्रयासका रूपमा हेरेका छन् । सन् १९५३ मा युद्धविराम सम्झौता भएयता पनि कोरियाली प्रायद्वीपका यी दुई पक्षबिचको द्वन्द्व व्यावहारिक रूपमा यथावत् अवस्थामा छ ।
उनीहरूले शान्ति–सम्झौतामा हस्ताक्षर गरेनन्, त्यसैले प्राविधिक रूपमा उनीहरू अझै पनि युद्धकै अवस्थामा छन् । त्यसयताका दशकहरूमा सैन्यविहीन क्षेत्रमा झडप र तनाव देखिएका छन् । साथै, दुवै पक्षले एक–अर्कामाथि उक्साहटपूर्ण गतिविधि गरेको आरोप लगाउँदै आएका छन् जसमा फोहोर र प्रचार–प्रसार सामग्री बोकेका बेलुन खसाल्ने कार्य पनि समावेश छन् ।
आफ्ना पूर्ववर्ती युन सुक–योलमाथि सैनिक शासन घोषणा गर्ने प्रयास गरेको आरोपमा महाभियोग लागेपछि गत वर्ष दक्षिण कोरियाको राष्ट्रपति बनेका लीले, युनको कार्यकालमा चिसिएको उत्तर कोरिया र उसको सहयोगी चीनसँगको सम्बन्ध सुधार्ने प्रयास गरेका छन् । कोरियाली प्रायद्वीप जापानी शासनबाट मुक्त भएको सम्झनामा मनाइने ‘मुक्ति दिवस’को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘आउनुहोस्, एक–अर्कालाई धम्की दिने मनसाय त्यागौँ र यस युद्धमा प्रत्यक्ष संलग्न पक्षका रूपमा लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न वार्ता सुरु गरौँ ।’
लीले दुई राष्ट्रहरू ‘शान्तिपूर्ण सहअस्तित्व र आपसी विकासका लागि आमनेसामने भएर वार्ता गर्ने’ आशा व्यक्त गरे । उनले यो पहल ‘उत्तर कोरियाको आणविक क्षमता विस्तार रोक्ने प्रभावकारी उपाय’बारे छलफल गर्ने मञ्च बन्न सक्ने पनि बताए । उत्तर कोरियाले लीको यस प्रस्तावमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।