भिडियो कन्फरेन्सबाटै बन्दीहरूको बयान तथा बकपत्र गर्न सकिने

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

नयाँ कारागार नियमावलीले कैदीबन्दीसम्बन्धी व्यवस्थामा महत्त्वपूर्ण परिवर्तन गरेको छ। नियमावलीअनुसार अब बन्दीहरूको बयान तथा बकपत्र भिडियो कन्फरेन्समार्फत नै गर्न सकिने व्यवस्था गरिएको छ।

यस व्यवस्थाले कैदीलाई अदालत वा अन्य निकायमा लैजानुपर्ने खर्च तथा सुरक्षासम्बन्धी चुनौती कम हुने कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए। उनका अनुसार भिडियो कन्फरेन्सको प्रयोगले कारागारको खर्चसमेत उल्लेख्य रूपमा घट्नेछ।

नयाँ नियमावलीले कैदीबन्दीको प्रजनन अधिकारलाई समेत सुनिश्चित गरेको छ। जसअनुसार निश्चित मापदण्ड पूरा गर्ने कैदीबन्दीले तोकिएको दिन श्रीमान्–श्रीमतीसँग कारागारभित्रै बस्न पाउने व्यवस्था गरिएको छ।

तर, यस्तो सुविधाका लागि आवश्यक भौतिक पूर्वाधार हाल डोटी कारागारमा मात्र रहेको विभागले जनाएको छ । अन्य कारागारमा पनि क्रमशः यस्ता संरचना निर्माण गर्दै लैजाने निर्देशक न्यौपानेले बताए।

यसैगरी, नियमावलीले खुला कारागार सञ्चालनसम्बन्धी व्यवस्थालाई स्पष्ट पारेको छ । असल चालचलन भएका कैदीबन्दीलाई खुला कारागारमा राख्न सकिने व्यवस्था गरिएको छ ।

खुला कारागारमा रहेका कैदीले दिउँसो काममा जाने र बेलुका कारागारमै फर्केर बस्न सक्नेछन् । यस्तो अवधारणाबारे करिब दुई दशकदेखि छलफल हुँदै आए पनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको थिएन।

नयाँ नियमावलीले भने खुला कारागार सञ्चालनको कानुनी आधार स्पष्ट गरेसँगै यसको कार्यान्वयनको बाटो खुलेको विभागले जनाएको छ।

सुझावित समाचार