लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् । सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको समग्र विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताउँदै विश्वासको मत मागेका हुन् ।
मुख्यमन्त्री आचार्यले कांग्रेससँगको सहकार्यमा दुई वर्ष सरकार सञ्चालन गरेको उल्लेख गर्दै लुम्बिनीको उन्नति र समृद्धिका लागि एउटै सोच र उद्देश्यका साथ अघि बढेको बताए । कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संयुक्त सरकारलाई निरन्तरता दिने विषयमा विभिन्न प्रयास गरिएको उनले जानकारी दिए ।
‘लुम्बिनी प्रदेशको विकासका लागि फराकिलो छाती बनाएर अघि बढ्ने प्रयास गरेका छौँ,’ उनले भने । उनले लुम्बिनी प्रदेशबाट राजनीतिक सहकार्य र सकारात्मक सन्देश दिन सबै दललाई आग्रह गरे ।
प्रदेशको विकास, स्थायित्व र समृद्धिका लागि विश्वासको मत दिन अपिल गर्दै मुख्यमन्त्री आचार्यले सबै राजनीतिक दललाई फराकिलो सोचका साथ अघि बढ्न आग्रह गरे । ‘लुम्बिनीबाट नयाँ सन्देश दिनुपर्छ । विकास र समृद्धिका लागि हामी सबै एक ठाउँमा उभिनुपर्छ,’उनले भने ।