भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित समस्याग्रस्त कृषि विकास बचत तथा ऋण सहकारीका १३६ बचतकर्ताले रकम फिर्ता पाएका छन्। नगरपालिकाले सहकारीलाई १७ जेठ ०८१ मा समस्याग्रस्त घोषणा गरेको थियो । त्यससँगै ६७९ बचतकर्ताको २३ करोड तीन लाख ८३ हजार ९६४ रुपैयाँ बचत रकम जोखिममा परेको थियो ।
बचत रकम फिर्ता हुने समस्या देखिएपछि नगरपालिकाले उच्च अदालतका पूर्वन्यायाधीश विनोदमोहन आचार्यको नेतृत्वमा २८ जेठ ०८२ मा समस्याग्रस्त व्यवस्थापन समिति गठन गरेको थियो । समितिले हालसम्म १३६ बचतकर्ताको ४६ लाख ८४ हजार १२५ रुपैयाँ रकम फिर्ता गरेको आचार्यले बताए ।
‘मध्यपुर ठिमी नगरपालिकाले मातहतको कृषि विकास बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको वर्ष दिनपछि मेरै नेतृत्वमा समस्याग्रस्त व्यवस्थापन समिति गठन गर्यो । समितिले हालसम्म १३६ बचतकर्ताको झन्डै ४७ लाख रुपैयाँ रकम फिर्ता गरिसकेको छ । बाँकी बचतकर्ताको रकम फिर्ता गर्ने क्रम जारी छ,’ उनले भने ।
स्थानीय तहमा दर्ता भएका सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने र समस्या समाधानका लागि समिति गठन गर्ने मध्यपुर ठिमी मुलुकभर रहेका ७५३ स्थानीय तहमध्ये पहिलो हो । समितिका अनुसार सरकारले तोकेबमोजिम १० हजार रुपैयाँ प्राप्त गर्ने बचतकर्ताको संख्या भने ४१० पुगेको छ । त्यस्तै, ४० बचतकर्ताको २१ लाख ९६ हजार ३८३ रुपैयाँबराबरको हिसाब मिलान गरिएको छ । अब बचत रकम फिर्ता गर्न बाँकी बचतकर्ता ५०३ छन् । सबैगरी २० करोड ४७ लाख २७ हजार ५९५ रुपैयाँ फिर्ता गर्न बाँकी छ ।