काठमाडौंमा घर फुटाएर चोरी गर्ने गिरोह पक्राउ

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

काठमाडौंमा घरको कोठा फुटाई गरगहना, नगद र अन्य धनमालहरू चोरी गर्ने एक गिरोह पक्राउ परेको छ। गत मंगलबार दिउँसो साढे ३ बजेको समयमा काठमाडौं महानगरपालिका– १६, टौडोलस्थित एक घरबाट चोरी गरेको सामानसहित प्रहरी वृत्त बालाजुको टोलीले शुक्रबार चारजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका– ३ घर भई काठमाडौं– ३१ जेसीदेवल बस्ने २५ वर्षीय सुमन थापामगर, कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई मनमैँजु बस्ने २३ वर्षीय दीपक भन्ने दीपेश नेगी, गोरखाको धार्चे गाउँपालिका– ५ बस्ने ५१ वर्षीय धनबहादुर सुनार र सोही ठेगाना भई मनमैँजु बस्ने ३५ वर्षीय सुकबहादुर गुरुङ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट सुनको मुन्द्रा दुई थान, झुम्का २ थान, औँठी दुई थान, चाँदीको पाउजु २ जोर, सुनको गहनाका टुक्राहरू ३१ थान, ल्यापटप ३ थान, मोबाइल सेट ९ थान, घडी ५ थान, क्यामरा ३ थान, तामाको मूर्ति १ थान,  नगद ७५ हजारलगायतका सामग्री बरामद गरेको छ।

उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार