साढे तीन वर्षमा सुदूरपश्चिममा पाँच सरकार, नेकपाका भट्ट नयाँ मुख्यमन्त्री

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाको वाचा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आश्वासन पाएका नेकपा प्रदेश संसदीय दलका नेता खगराज भट्ट अन्ततः एमाले अध्यक्ष केपी ओलीसँगको सहकार्यमा सुदूरपश्चिमको मुख्यमन्त्री बनेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कांग्रेस–एमाले समीकरण टुटेर नेकपा–एमाले समीकरण बनेपछि भट्टलाई मुख्यमन्त्री बन्ने अवसर जुरेको हो । नवनियुक्त मुख्यमन्त्री भट्टले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाको यस कार्यकालमा भट्ट पाँचौँ मुख्यमन्त्री हुन् । प्रदेश सभाको दोस्रो कार्यकालको करिब साढे तीन वर्षको अवधिमा तीनजना सांसद चारपटक मुख्यमन्त्री बनिसकेका छन् ।

०७९ मा भएको संघीय र प्रदेश सभा निर्वाचनकै वेला सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा तत्कालीन माओवादीका नेता खगराज भट्ट चर्चामा थिए । त्यसवेला कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराका चुनावी सभामै भट्टलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने वचन दिएर मत मागेका थिए । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।

चुनावमा कांग्रेस र माओवादीको गठबन्धन थियो । डडेल्धुरामा गठबन्धनबाट देउवा संघीय र भट्ट प्रदेश सभा सदस्यका उम्मेदवार थिए । तर, उक्त चुनावी अभियानको साढे तीन वर्षपछि भट्टलाई मुख्यमन्त्री बन्ने अवसर जुरेको छ । चुनावमा देउवा र भट्ट दुवै निर्वाचित पनि भए । तर, भट्ट चुनावपछि मुख्यमन्त्री बन्न पाएनन् । चुनावलगत्तै सरकार गठनको विवादले कांग्रेस–माओवादी गठबन्धन टुट्यो । एमाले र माओवादीबिच नयाँ समीकरण बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व एमालेको भागमा पर्यो ।

चुनावअघि नै मुख्यमन्त्रीको चर्चामा रहेका भट्टले अहिले आएर मुख्यमन्त्री बन्ने अवसर पाएका छन् । कांग्रेस–एमालेको सत्ता समीकरण टुटेर एमाले–नेकपा समीकरण बनेपछि प्रदेश सभाको दोस्रो कार्यकालको उत्तरार्द्धमा भट्टका लागि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । चुनावमा प्रतिस्पर्धी रहेको एमालेकै समर्थनमा भट्ट मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनीसँगै एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् । एमालेबाट सामाजिक विकासमन्त्रीमा सन्तोषकुमारी थापा शर्मा, आर्थिक मामिलामन्त्रीमा चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा दमन भण्डारी र आर्थिक मामिला राज्यमन्त्रीमा जानकी ऐरले शपथ लिए ।

नेकपाले आफ्नो भागमा परेका मन्त्रालयका लागि मन्त्रीको टुंगो लगाइसकेको छैन । नेकपा संसदीय दलका नेतासमेत रहेका भट्टले पार्टीको भागमा परेका तीनवटा मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । २ पुस ०३१ मा डडेल्धुराको अजयमेरु गाउँपालिका– ४, चौडीमा जन्मिएका भट्ट किशोर अवस्थामै राजनीतिमा होमिएका थिए । ०४७ मा तत्कालीन नेकपा (एकता केन्द्र)को सदस्यता लिएर कम्युनिस्ट राजनीतिमा लागेका उनी राजनीतिक जीवनको प्रारम्भिक कालमा कञ्चनपुर र डडेल्धुरामा विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

जनयुद्धमा भूमिगत र जेलजीवनको उतारचढाव पार गरेका भट्टको प्रदेश सभा पहिलो संसदीय यात्रा भए पनि पार्टीमा जिल्ला, प्रदेश इन्चार्ज, सहइन्चार्ज, केन्द्रीय सदस्य, स्थायी समिति सदस्यलगायत विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ । जनयुद्ध सुरु भएपछि उनी पूर्ण रूपमा भूमिगत भएका थिए । फागुन ०५२ मा राज्यविरुद्धको कसुरमा डडेल्धुराबाट पक्राउ परेका भट्टले साढे नौ महिना जेलजीवन बिताएका थिए ।

शान्ति प्रक्रिया सुरु भएपछि खुला राजनीतिमा भट्टको सुरुवाती संसदीय प्रतिस्पर्धा सुखद रहेनन् । तर, त्यही प्रतिस्पर्धाले उनलाई राष्ट्रिय राजनीतिमा थप परिचित गरायो । उनी डडेल्धुराबाट ०४८ देखिका हरेक चुनाव जित्दै आएका कांग्रेसका तत्कालीन सभापति देउवाका सदावहार प्रतिस्पर्धीजस्तै देखिए ।

०६४ र ०७० को संविधान सभा निर्वाचन तथा ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भट्ट देउवासँग पराजित भए । ०६४ को निर्वाचनमा देउवालाई कडा टक्कर दिएका भट्टको जितका लागि ०७४ को चुनावमा वाम गठबन्धनको बल पनि पर्याप्त भएन ।

०७९ को संसदीय चुनावमा भने संघीय संसद्को चुनाव छाडेर उनी गठबन्धनबाट डडेल्धुराको प्रदेश सभा (१) का उम्मेदवार बने र निर्वाचित भए । प्रदेश सभामा उनी सर्वसम्मत माओवादी संसदीय दलका नेता बने । तर, आन्तरिक विवाद चर्किएपछि माघ ०८० मा दलको नेताबाट हटाइए । करिब १६ महिनापछि भट्ट पुनः दलको नेतामा फर्किए ।

माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबिचको एकीकरणपछि बनेको नेकपा २२ सदस्यसहित सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठुलो दल बनेको छ । भट्ट उक्त संसदीय दलको नेतृत्वमा छन् । भट्टको परिवारका सदस्यहरू पनि जनयुद्धकालदेखि नै माओवादी राजनीतिमा सक्रिय थिए । राजनीतिमा सक्रिय उनका दाइ जयराज भट्टले जनयुद्धकालमा सहादत प्राप्त गरे । भाइ उमेश, भाउजू नन्दादेवी, श्रीमती मञ्जु बम, भाइबुहारी धर्मा बोहरालगायत पनि जनयुद्धकालमा भूमिगत थिए । मञ्जु ०६४ को अन्तरिम व्यवस्थापिका सदस्य थिइन् ।

जे–जति गर्छु, राम्रो गर्छु : भट्ट
नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले आफू सदनको विश्वास लिएर सुदूरपश्चिमका जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘दैनिक चमत्कार त सम्भव हुँदैन, तर जे गर्नेछु, राम्रो गर्नेछु, मान्छेलाई राम्रो गर्यो भन्ने अनुभूति दिलाउनेछु,’ उनले भने ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगत्तै उनले मिर्गौला रोगबाट पीडित बिरामीको सहजताका लागि सुदूरपश्चिमका सबै जिल्ला अस्पतालमा कम्तीमा दुई शय्याको डायलाइसिस सेवा सुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । सरकारका कामकारबाही अधिकतम पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता पनि भट्टले जनाएका छन् । तत्कालीन सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि १ साउनदेखि प्रदेश बजेट शून्यतामा छ । मुख्यमन्त्री भट्टले प्रदेशलाई समृद्धिको बाटोमा लैजाने गरी रूपान्तरणकारी बजेट ल्याउने बताएका छन् ।
 

सुझावित समाचार