निगमको समन्वयमा बुटवल र भैरहवामा ३६ सय २४ थान ग्यास सिलिन्डर वितरण

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भलबारी (रुपन्देही)को समन्वयमा बिहीबार बुटवल र भैरहवामा विभिन्न ९ ब्राण्डका ३६ सय २४ थान ग्यास सिलिण्डर सर्वसाधारण उपभोक्तालाई वितरण गरिएको छ। 

निगमको लुम्बिनी प्रादेशिक प्रमुख शैलेन्द्र भुसालका अनुसार बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पस परिसरबाट २७ सय ९६ थान र भैरहवास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरबाट ८२८ थान सिलिण्डर वितरण भएको हो।

रुपन्देहीमा ग्यास आपूर्ती असहज भएको गुनासोलाई समाधान गर्न निगमले त्यस क्षेत्रमा बजारीकरण गरिरहेका उद्योगलाई परिचालन गरेर एकिकृत डिपोमार्फत ग्यास बिक्री गरेको हो। आयल निगमबाट १० जना कर्मचारीसमेत खटिएर ग्यास बितरण भएको भुसालले जानकारी दिए।

‘म दिनभर एकिकृत ग्यास बिक्री केन्द्रमा खटिएर हेर्दा विद्यार्थी, गृहणी, कमजोर आय स्रोत भएका उपभोक्ताहरुको बाहुल्यता धेरै थियो’ उनले भने, ‘अहिलेको असहजताले निम्न बर्गका उपभोक्तालाई बढी असर गरेको पाएँ।’

उनका अनुसार भैरहवा र बुटवलका एकिकृत डिपोमार्फत बुटवल, स्वस्तिक, सिद्धार्थ, त्रिशुल, चण्डेश्वरी, आरती, सिद्धनाथ, जानकी र लुम्बिनी ब्राण्डका ग्यास बितरण भएको थियो। केही उपभोक्ताले फरक ब्राण्डको खाली सिलिण्डर ल्याएर लाइनमा लागेको पाएपछि सट्टापट्टा गरेर समेत ग्यास भरिएको सिलिण्डर दिएर पठाएको उनले बताए। बुटवल र भैरहवाको चर्को गर्मीमा छाता ओढेर उपभाक्ताहरु ग्यासका लागि लाइनमा बसेका थिए।

‘लाइनमा बसेका कसैलाई पनि खाली हात फर्काएनौं। साँझ अबेरसम्म भए पनि उद्योगबाट ग्यास ल्याएर बितरण गरियो’ भुसालले भने, ‘रुपन्देहीमा भोलीबाट ग्यास आपूर्ती असहजताको बिषय उठ्छ जस्तो लाग्दैन।’ निगमले बिहिबार भैरहवा र बुटवलबाट ग्यास बितरण हुनेबारे पूर्व जानकारी दिएको थियो। त्यसैले, अत्यावश्क भएका जिल्लाका सबै उपभोक्ताले ग्यास पाएको बुझाई रहेको भुसालले बताए।

निगमको समन्वयमा यसअघि गत मंगलबार पनि दुवै स्थानबाट गरी कूल १३ सय ६८ थान ग्यास सिलिण्डर बितरण भएको थियो। आयल निगमले काठमाडौं उपत्यकामा आपूर्ती सहज गर्न टेकुस्थित पुरानो कार्यालयमा राखेको अस्थायी बिक्री केन्द्रबाट पनि बिहिबार कूल १८ सय २६ थान ग्यास सिलिण्डर बितरण गरेको छ। टेकुबाट नेपाल ४ सय, एचपी ३२०, एभरेष्ट ५६०, श्रीराम १६९, सगर २०३, हिमाल ८० र सिद्धार्थ ग्यास ९४ थान बिक्री भएको निगमले जनाएको छ।

सुझावित समाचार