लागुऔषधको लतले दम्पती नै चोरीमा संलग्न

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

दाङमा लागुऔषधको लतमा परेका श्रीमान्-श्रीमती नै चोरीमा संलग्न भएको पाइएको छ। लागुऔषधको लत पूरा गर्न घोराहीका विभिन्न घरहरूमा श्रृंखलाबद्ध रूपमा सुन चोरी गर्ने एक दम्पती र चोरीको गहना खरिद गर्ने व्यवसायीलाई जिल्ला अदालत  दाङले कैद फैसला सुनाएको हो।

न्यायाधीश लालसिंह थापाको इजलासले सोमबार मुख्य अभियुक्त तुलसीपुर– ४, लक्ष्मीपुरनिवासी विशाल विक, उनकी श्रमती मीना नेपाली र सुन व्यवसायी घोराही– ४, सुनपुरका कुमार विकलाई सजाय सुनाएको हो।

अदालतले विशाल विकलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको छ। उनी पहिले पनि चोरी मुद्दामा सजाय पाइसकेका ‘पटके’ अभियुक्त भएकाले थप सजाय दिइएको हो। त्यस्तै, मीना नेपालीलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा व्यवसायी कुमार विकलाई एक वर्ष कैद सजाय हुने भएको छ। 

अदालतले पीडितहरूलाई प्रतिवादीहरूबाट बिगो भराइदिने र वारदातमा प्रयोग भएका पल्सर मोटरसाइकल तथा स्कुटर जफत गर्ने आदेशसमेत दिएको छ।

यो गिरोहले २०८२ माघ १९ गते दाङ घोराही– १५ भरतपुरस्थित जयकुमारी रानाको घरबाट सुनका गहना र नगद, फागुन १० गते सोही ठाउँका कुमारवसन्त आचार्यको घरबाट १० लाख ३६ हजारभन्दा बढीको सम्पत्ति र चैत ८ मा घोराही– १४ निवासी गौरी कार्कीको घरबाट ८४.१ लाल सुन चोरी गरेको थियो।

अभियुक्तहरूलाई प्रहरीले सीसीटीभी फुटेजको आधारमा पहिचान गरी ब्राउन सुगर सेवन र कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। खानतलासीका क्रममा उनीहरूको साथ र डेराबाट गरी कुल १८.६६ ग्राम ब्राउन सुगर बरामद भएको थियो भने बयानका क्रममा उनीहरूले लागुऔषधको लत र डेरा खर्च जुटाउन चोरी गर्ने गरेको स्वीकार गरेका थिए।

चोरी गरिएका गहनाहरू घोराही– १५ स्थित ‘जय विश्वकर्मा सुनचाँदी गहना उद्योग’का सञ्चालक कुमार विकले बिल–बिजकबिना सस्तो मूल्यमा खरिद गर्ने गरेको पुष्टि भएको थियो। प्रहरीले उनको पसलबाट चोरीका गहना गलाएर स्वरूप परिवर्तन गरिएको ३ तोला ४१ लाल सुन र नगद ३ लाख १४ हजार बरामद गरेको थियो। चोरीको सामान हो भन्ने जान्दाजान्दै आर्थिक लाभ लिन खोजेको अभियोगमा कुमारलाई पनि जेल सजाय भएको हो।

सुझावित समाचार