विराटनगरमा संचालित सातवटा निजी आँखा अस्पतालहरुमा प्रशासनले ताला लगाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको संयुक्त अनुमगन टोलीले न्यूनतम मापदण्ड पूरा नगरेका आँखा अस्पतालमा थप अनुसन्धानका लागि शिलबन्दी गरेका हुन्।
विराटनगर–१५ रानीस्थित अखण्ड ज्योति आँखा अस्पताल, मलाया रोडमा रहेका हिमाल आँखा अस्पताल, नेपाल आँखा अस्पताल, संजीवनी आइकेयर, इफराह आँखा अस्पताल र विराट रानी आँखा अस्पतालमा ताला लागेको हो। यसैगरी मापदण्ड नपुगेको भन्दै अनुगमन टोलीले विराट आँखा अस्पतालको ल्याब (प्रयोगशाला)मा पनि शिलबन्दी गरेको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार मापदण्डविपरीत आँखा अस्पताल सञ्चालन भैरहेको भन्ने व्यापक गुनासो आएपछि बुधबार र बिहीबार दुई दिन लगातार प्रदेश स्वास्थ्य मन्त्रालयसमेतको टोलीले अनुगमन गरेको हो।
अनुगमनका क्रममा ६ वटा अस्पताल र एउटा अस्पतालको ल्याबले कानुनी प्रक्रिया र प्राविधिक मापदण्ड मिचेर सेवा दिइरहेको पाइयो। सहायक प्रजिअ कोइरालाले विराटनगरमा सञ्चालनमा रहेका अन्य आँखा अस्पतालहरुको पनि निरन्तर अनुगमन जारी रहने बताए।
निजी व्यवसायिक आँखा अस्पताल सञ्चालन गर्दा कम्तीमा २ सय शय्या हुनुपर्ने प्रावधान छ। तर, विराटनगरमा सञ्चालनमा रहेका अस्पतालहरुले कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट ‘आँखा उपचार केन्द्र’का रूपमा स्वीकृति लिएर केही बेडहरु मात्र राखेर आँखाका जटिल अप्रेसनहरु गर्दै आएका छन्।
विराटनगरमा भारतीय विरामीहरुलाई लक्षित गरेर सीमाक्षेत्र नजिक घरभाडा लिएर आँखा उपचार केन्द्रको स्विकृति लिएर आँखा अस्पताल भनी प्रचारप्रसार गराएर गुणस्तरहीन उपचार गराउँदै आएको प्रशासनको दाबी छ।