न्यूनतम सीमा पार गर्दै राष्ट्रिय सहकारी बैंकको पुँजी पर्याप्ततामा ऐतिहासिक सुधार

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष ०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वित्तीय सुधारको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।

विशेष गरी बैंकको पुँजी पर्याप्तता अनुपात (सिएआर) नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम ८ प्रतिशतको सीमाभन्दा माथि पुग्दै ११.६६ प्रतिशत कायम भएको छ, जुन बैंकको वित्तीय स्थायित्व र जोखिम वहन क्षमतामा आएको उल्लेखनीय सुधारको सूचक हो।

अघिल्लो त्रैमाससम्म ४.४२ प्रतिशतमा सीमित रहेको पुँजी पर्याप्तता अनुपात छोटो अवधिमै ११.६६ प्रतिशतमा पुग्नु बैंकका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले बैंकले विगतका चुनौती पार गर्दै आफ्नो पुँजी आधार मजबुत बनाउने दिशामा उल्लेखनीय प्रगति गरेको देखाउँछ।

वित्तीय विवरणअनुसार बैंकले चौथो त्रैमाससम्म करिब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको बैंक चालू वर्षमा नाफामा फर्कन सफल भएको हो। खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भई ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जसले बैंकको मुख्य व्यावसायिक गतिविधिमा सुधार आएको संकेत गर्दछ।

बैंकको सञ्चालन आम्दानी र सञ्चालन नाफामा समेत सकारात्मक वृद्धि देखिएको छ। वित्तीय आधार मजबुत बन्दै जाँदा बैंकको समग्र कार्यसम्पादनमा सुधार देखिएको व्यवस्थापनको भनाइ छ। विगतमा बैंकको प्रमुख चुनौतीका रूपमा रहेको सञ्चित नोक्सानीमा पनि उल्लेखनीय कमी आएको छ। चालू वर्षको नाफाले सञ्चित नोक्सानी घटाउन महत्वपूर्ण योगदान पुर्याएको छ। यद्यपि सञ्चित नोक्सानी पूर्ण रूपमा अन्त्य भने भइसकेको छैन।

सबै सूचक सकारात्मक दिशातर्फ उन्मुख भए पनि निष्क्रिय कर्जा (एनपिएल) अझै बैंकको प्रमुख चुनौतीको रूपमा रहेको छ। चौथो त्रैमाससम्म निष्क्रिय कर्जा अनुपात ३२.२६ प्रतिशत छ, जुन बैंकिङ मापदण्डअनुसार उच्च मानिन्छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले नाफामा पुनरागमन, सञ्चित नोक्सानीमा आएको कमी तथा पुँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकको न्यूनतम सीमाभन्दा माथि पुर्याउन सफल हुनु संस्थागत सुधार यात्राका महत्वपूर्ण उपलब्धि भएको बताए। उनले आगामी दिनमा निष्क्रिय कर्जा घटाउने, पुँजी आधार थप सुदृढ बनाउने तथा वित्तीय स्थायित्वलाई दिगो बनाउने कार्यलाई उच्च प्राथमिकता दिइने उल्लेख गरे।
 

सुझावित समाचार