जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदी थाहाबाट पक्राउ

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको साबिक टिस्टुङ गाविस– ३ हाल थाहा नगरपालिका– ११ ठुलोठाडे निवासी ६० वर्षीय मेक्सो लो रहेका छन्।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनलाई साउन २७ गते बुधबार साँझ थाहा नगरपालिका– ११ बाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लो लागुऔषध (अफिम) मुद्दामा दोषी ठहर भई १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना सजाय पाएका फरार कैदी हुन्। उनी जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए।

यसअघि लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौंले उनलाई ०७७ माघ १८ गते करिब तीन किलोग्राम अफिमसहित पक्राउ गरेको थियो। सोही मुद्दामा अदालतबाट दोषी ठहर भएपछि उनी कारागारमा सजाय भुक्तान गरिरहेका थिए।

सुझावित समाचार