जिडब्लुएमको हाभल जोलियन म्याक्स इभी सार्वजनिक

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

ग्रेट वाल मोटर (जिडब्लुएम)को नयाँ इभी एसयुभी हाभल जोलियन म्याक्स सार्वजनिक गरिएको छ । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले उक्त मोडेल सार्वजनिक गरेको हो ।

५८.३ किलोवाट–आवर ब्याट्री रहेको जोलियन म्याक्सले एकपटकको चार्जमा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीको दाबी छ । एसयुभीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसले नेपालका विभिन्न सडक तथा दैनिक प्रयोगका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ ।

सुरक्षाका लागि यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, लेन चेन्ज असिस्ट, इमर्जेन्सी लेन किपिङ, फरवार्ड कोलिजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, रियर क्रस ट्राफिक वार्निङ तथा रियर क्रस ट्राफिक ब्रेकिङलगायतका सुविधा छन् । ड्राइभर फाटिग मोनिटरिङ र ट्रान्सपरेन्ट अन्डरबडी भ्यु सिस्टम पनि उपलब्ध रहेको बताएको छ । 

जोलियन म्याक्सको इन्टेरियरमा १४.६ इन्चको टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ, भ्वाइस रिकग्निसन, ब्लुटुथ र ६ वटा स्पिकरको अडियो सिस्टम रहेको छ । भेरियन्टअनुसार प्यानोरामिक सनरुफ, हिटेड तथा भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रिक ड्राइभर सिट र एम्बियन्ट लाइटिङलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार, यसले ६.६ किलोवाटसम्मको एसी चार्जिङ र डिसी चार्जिङ सपोर्ट गर्छ । साथै, भेहिकल–टु–लोड (भिटुएल) सुविधामार्फत बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ ।

जिडब्लुएमले नेपालमा करिब एक महिनाअघि मात्रै ‘ओरा–५’ इभी सार्वजनिक गरेको थियो । नाइमा एक्स्पोमा हाभल जोलियन म्याक्स ५९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सुझावित समाचार