अल्पमतको सरकार चलाइरहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अन्तिम समयसीमा बिहीबार सकिँदै छ । मुख्यमन्त्री शाहसँग विश्वासको मत लिने वा राजीनामा दिने विकल्प छ । गत ३१ असारमा एमालेले समर्थन फिर्ता लिएपछि उनले बहुमत गुमाएका हुन् ।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिनुपर्ने अन्तिम समय बिहीबार हो । बिहीबार विश्वासको मत नलिए वा विश्वासको मत लिएर बहुमत जुटाउन नसके उनी स्वतः पदमुक्त हुनेछन् ।
सत्ता सहकार्यको सहमति गरेका नेपाली कम्युनिस्ट पार्टी र एमालेको स्पष्ट बहुमत रहेकाले अहिलेकै अवस्थामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना छैन । विश्वासको मत लिनुपर्ने अन्तिम समय सीमाको अघिल्लो दिन बुधबार उनले आफ्नो निवासमा संसदीय दलको बैठक राखेर यसबारे छलफल गरेका थिए ।
मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिने समझदारी दलको बैठकमा भएको कांग्रेस सांसद दिवानसिंह विष्टले बताए । ‘मुख्यमन्त्रीले राजीनामा दिने कुरा थियो, तर अहिले फेरि विश्वासको मत लिनुपर्छ भन्ने भएको छ,’ विष्टले भने, ‘भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक पुनः बस्छ, बैठकले थप केही निर्णय गर्ला ।’ मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि बेलुकी ५ बजे प्रदेश सभा बैठक बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्रीनिकट स्रोतका अनुसार बहुमतको सम्भावना नरहेकाले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी छ । ‘बहुमत पुग्ने अवस्था छैन । त्यसैले मुख्यमन्त्रीज्यूले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भन्ने छ,’ स्रोतले भन्यो, ‘राजीनामा दिने वा विश्वासको मत लिने विषय भोलिसम्म केही फेरबदल पनि हुन सक्ला ।’
५३ सदस्यीय प्रदेश सभामा हाल एक निलम्बितसहित ५२ सदस्य कायम छन् । सरकार गठनका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ । सरकारको नेतृत्व गरिरहेको कांग्रेसका १८ सांसद छन् । त्यसमध्ये एक सांसद ११ महिनादेखि अमेरिकामा छन् । नेकपाका एक निलम्बितसहित २१, एमालेका ११ र राप्रपाका एक सांसद छन् । सभामुख भण्डारी नेकपाबाट निर्वाचित हुन् ।
शाहको बहिर्गमनसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेश सभामा सबैभन्दा ठुलो दल रहेको नेकपा संसदीय दलका नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्नेछन् । एमालेको समर्थनमा भट्टलाई मुख्यमन्त्रीमा अघि सार्ने नेकपाको तयारी छ । नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले मुख्यमन्त्रीको उम्मेदवारका विषयमा पार्टीमा कुनै द्विविधा नरहेको दाबी गरे । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबीका लागि आह्नान गरेपछि मुख्यमन्त्रीको उम्मेदवारका सन्दर्भमा संसदीय दलले औपचारिक निर्णय गर्ने उनले बताए ।
‘दलको नेतालाई नै अघि सार्ने तयारी छ । केन्द्रबाट पनि नेताहरूको त्यही निर्देशन छ,’ रावलले भने, ‘मुख्यमन्त्रीले राजीनामा दिएर सरकार गठनको प्रक्रिया अगाडि बढेपछि निर्णय गरेर अगाडि बढ्छौँ ।’ डडेल्धुराको प्रदेश सभा (१) बाट निर्वाचित भट्ट चुनावकै वेला भावी मुख्यमन्त्रीको चर्चामा थिए । सरकारले गत १ असारमा प्रस्तुत गरेको बजेट पारित नभएर प्रदेश सभामा अलपत्र परेपछि सुदूरपश्चिम अहिले बजेट शून्यताको अवस्थामा छ । बजेट र बजेटसँग सम्बन्धित ऐन प्रदेश सभाबाट पारित नहुँदा सरकारले कुनै पनि प्रकारको खर्च गर्न पाएको छैन । सामयिक राजस्व संकलनसम्बन्धी ऐनका आधारमा राजस्व भने संकलन भइरहेको छ ।