दाङमा एक १५ वर्षीया नाबालिग किशोरीले बच्चा जन्माएपछि बलात्कारको मुद्दा दर्ता गरिएको छ । रोल्पा त्रिवेणी गाउँपालिका– ७, सिवाङ घर भई हाल दाङको घोराही उपमहानगरपालिका– १५, शुभलक्ष्मी टोलमा डेरा गरी बस्ने २० वर्षीय सन्तोष बस्नेतविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको हो ।
किशोरीलाई विवाहको प्रलोभन देखाएर करणी गरेको भन्दै सोमबार जिल्ला अदालत दाङमा अभियोगपत्र दर्ता गरिएको छ । कक्षा १० मा अध्ययनरत ती बालिकाको घर प्युठान हो, उनी घोराहीको भरतपुरमा कोठा भाडामा बस्थिन् । त्यही क्रममा ०८२ भदौ ४ गते ‘जरुरी काम छ’ भन्दै फकाएर किशोरीलाई आफ्नै कोठामा बोलाई जबर्जस्ती करणी गरेको र त्यसकै कारण उनी गर्भवती भएको अभियोगपत्रमा उल्लेख छ ।
किशोरी गर्भवती भएको विषय लामो समयसम्म गोप्य रहे पनि उनले ८३ वैशाख ३१ गते नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा छोरीलाई जन्म दिएपछि मात्रै रहस्य खुलेको हो । त्यसभन्दा अघि केटीको घर–परिवारलाई समेत थाहा नभएको पीडित पक्षले खुलाएका छन् । उक्त मुद्धा साउन २५ गते सोमबार दर्ता भएको छ ।
बच्चा जन्मिएपछि मात्र वारदात स्थापित हुन आएको र त्यसपछि पीडितकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । ती केटाले जबर्जस्ती करणी गरेकाले पेटमा बच्चा बसेको पीडित बालिकाकी आमाले जाहेरीमा खुलाएकी छिन् । यद्यपि, करणीपछि पनि केटा र केटीको कुरा भइरहनेसमेत जाहेरीमा उल्लेख छ । करणीपछि भेट भने नभएको जाहेरीमा छ । कसैलाई नभन्नु भनी कोठाबाट निस्किन नदिँदा नै पेटमा बच्चा भएको कुरा कसैलाई थाहा नभएको पीडितकै आमाले खुलाएकी छिन् ।
पीडितको सुरक्षा र गोपनीयताका लागि उनको नाम उल्लेख गरिएको छैन । प्रतिवादी बस्नेतले भने आफूले बच्चा पेटमा बसिसकेपछि बिहे गर्ने प्रस्ताव गरेको बयान दिएका छन् ।