कञ्चनपुर महेन्द्रनगरबाट सानो प्रकृतिको हतियार (कटुवा पेस्तोलसहित चार युवा पक्राउ परेका छन । प्रहरीले सोमबार साँझ भीमदत्त नगरपालिका– १८, महेन्द्रनगर मामाभान्जाचोकबाट कटुवा पेस्तोलसहित चार युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेकबहादुर रावतले शंकाको आधारमा मोबाइलमा कटुवा पेस्तोलको फोटो, भिडियोका आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोलसहित पक्राउ गरिएको बताए ।
‘उनीहरूबिच एक–आपसमा वादविवाद भएको रहेछ, ‘प्रवक्ता रावतले भने, ‘प्रहरीले उनीहरूको मोबाइल चेकजाँच गर्दा पेस्तोलको फोटो र भिडियो भेटाएपछि वास्तविक पेस्तोलसम्मै प्रहरी पुगेको हो ।’
बेलडाँडी गाउँपालिका- ३ का १८ वर्षीय विपिन सिंह, २० वर्षीय नितेश सिंह, कृष्णपुर नगरपालिका- ६ का राजेन्द्रसिंह गोयला र गोदाबरी नगरपालिका- १ का २० वर्षीय पारस रोकाया रहेका छन् ।
प्रहरी प्रवक्ता रावतले विपिन सिंहकै डेराबाट पेस्तोल बरामद गरिएको बताए । उनीहरूविरुद्ध हातहतियार खरखजाना ऐनअनुरूप अनुसन्धान अघि बढाएर कारबाही गरिने प्रहरीकाे भनाइ छ ।