माउन्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दुधखोला जलविद्युत् आयोजनामा १० अर्ब लगानी जुटेको छ । प्रवर्द्धक कम्पनी दुधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबिच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार अगुवाका रूपमा एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकका रूपमा सानिमा बैंकले तीन अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । दुई बैंकले गरी आयोजनामा कुल १० अर्ब एक करोड लगानी गर्ने भएका हुन् । बाँकी रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ ।
मनाङमा निर्माण हुने यस आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रहेको बताइएको छ । प्रतिमेगावाट लागत २० करोडभन्दा पनि कम रहेकाले यस योजनालाई आकर्षक मानिएको छ ।
आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै तत्काल आयोजना निर्माणको काम थाल्ने कम्पनीको तयारी छ । निर्माण थालेको तीन वर्षभित्रमा विद्युत् उत्पादन थालिसक्ने कम्पनीको लक्ष्य छ । माउन्टेन इनर्जीले निर्माण गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र पाँच मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले हाल नियमित विद्युत् उत्पादन गरिरहेका छन् ।