नौ दिनको अन्तरमा दुई अटो मेला

२६ साउनदेखि नाइमा मोबिलिटी एक्स्पो

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

नेपालमा सवारीसाधनसम्बन्धी दुई ठुला मेला आयोजना नौ दिनको अन्तरमा हुने भएका छन् । नयाँ–नयाँ सवारीसाधनको प्रदर्शनी तथा खरिद–बिक्री गर्ने गरी अटोमोबाइल बिक्री गर्ने विक्रेताका दुई संस्थाले काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेका हुन् ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मंगलबारदेखि सुरु हुँदै छ । ३१ साउनसम्म सञ्चालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । एक्स्पोमा ५२ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारीसाधन तथा मोबिलिटीसम्बन्धी उत्पादन सार्वजनिक गरिनेछ । प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारी मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटी सेवा समेटिनेछन् ।

नाइमाले गत वर्षदेखि यस्तो कार्यक्रम गर्दै आएको छ । नेपाल पुलिस क्लबको ब्लु पेभेलियनस्थित अडिटोरियम हलमा निःशुल्क ‘लर्निङ सेसन’ सञ्चालन गरिनेछ । ती सत्रमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सिप विकास, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे विज्ञ, शिक्षाविद्, उद्योगी तथा नीति क्षेत्रका व्यक्तित्वले विचार राख्ने आयोजकको भनाइ छ । मंगलबार उद्घाटन सत्र पनि त्यहीँ हुनेछ । 

 ९ भदौदेखि नाडा अटो
नाइमाको मेला सकिएको आठ दिनपछि नाडा अटो सो २०२६ आयोजना हुँदै छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा यो मेला गर्दै छ । नाडाले विगत १८ वर्षदेखि अटो सो गर्दै आएको छ । यो वेला भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमै हुनेछ । कार्यक्रम मिति नजिकिँदै गर्दा नाडाले पनि आफ्नो तयारीको कामलाई तीव्रता दिएको छ । नाडाले अवलोकनकर्ताका लागि डिजिटल टिकटमा ५० प्रतिशत छुट दिने योजना ल्याइसकेको छ । कार्यक्रमका लागि स्टल बाँडफाँट भइसकेको छ । अन्य तयारी पनि नियमित रूपमा अघि बढिरहेको नाडाको भनाइ छ ।

सुझावित समाचार