नेपालमा खाना पकाउने ग्यास एलपी ग्यास आयातका लागि वार्षिक करिब ६ अर्ब रुपैयाँ ढुवानीमा खर्च हुने गरेको छ। नेपाल आयल निगमका अनुसार देशका ५९ वटा ग्यास उद्योगले भारतका हल्दिया, मथुरा, बन्थरा, पाराद्वीप, दुर्गापुर र बरौनी रिफाइनरीबाट ग्यास आयात गर्दै आएका छन्।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भारतीय रिफाइनरीदेखि नेपाली ग्यास उद्योगसम्म ग्यास ढुवानी गर्न वार्षिक ठुलो रकम खर्च भइरहेको छ। हाल ग्यास ढुवानीका लागि भारतीय व्यवसायीका बुलेट ट्यांकर प्रयोग भइरहेका छन्, जसका कारण ढुवानी भाडाबापतको सम्पूर्ण रकम भारतीय व्यवसायीले प्राप्त गरिरहेका छन्।
निगमले सर्लाहीमा ग्यास भण्डारणगृह निर्माण गर्न सके भारतबाट ग्यास सिधै पाइपलाइनमार्फत भण्डारण केन्द्रसम्म ल्याउन सकिने जनाएको छ। त्यसपछि देशभित्र मात्रै ढुवानी गर्नुपर्ने भएकाले वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी ढुवानी खर्च बचत हुने विश्वास निगमको छ।
प्रवक्ता ठाकुरले ग्यास भण्डारणगृह अहिलेको आवश्यकता भएको उल्लेख गर्दै यसले ढुवानी लागत घटाउनुका साथै ग्यास आपूर्तिलाई पनि थप सहज, सुरक्षित र भरपर्दो बनाउने बताए।