नेकपा र कांग्रेस दुवैलाई सरकारमा समेट्ने मुख्यमन्त्री कार्कीको तयारी

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले केन्द्रीय सचिव हिक्मतकुमार कार्कीले नेपाली कम्युनिस्ट पार्टीसँग सत्तागठबन्धन गरेर जाने शीर्ष नेताहरूबिच भएको सहमति कार्यान्वयनलाई अघि बढाउने बताएका छन्।

काठमाडौंमा अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेर बिहीबार अपराह्न विराटनगर आएका मुख्यमन्त्री कार्कीले एमाले र नेकपाको शीर्ष तहमा नयाँ सत्तागठबन्धनका लागि ९ साउनमा भएको सहमति कार्यान्वयनमा लैजान छलफल थाल्ने बताएका हुन्।

उनले सहमति कार्यान्वयनका लागि कोशी प्रदेशमा नेकपालाई सरकारमा सहभागी गराउनेबारे छलफल थाल्ने, तर त्यसभन्दा अघि हाल गठबन्धनमा रहेको कांग्रेसलाई पनि सँगसँगै लिएर जाने प्रयास गर्ने बताए। मुख्यमन्त्री कार्कीले भने, ‘अब हामी नयाँ सत्तागठबन्धनको सरकारका बारेमा छलफल थाल्नेछौँ, सकभर हाम्रो प्रयास सबै मिलेर जाऔँ भन्ने हुन्छ, त्यसपछि मात्र हाल सरकारमा रहेका कांग्रेसका मन्त्रीहरू हट्ने हटाउनेबारे सोच्नेछौँ।’

राजीनामाको विषयमा पार्टीको कोशी प्रदेश इन्चार्ज शेरधन राईसँग बढेको तिक्तताबारे मुख्यमन्त्री कार्कीेले पार्टीको आन्तरिक विषय भन्दै केही बताउन चाहेनन्। उनले आफू र अध्यक्षबिचको छलफलमा भएको दुईबुँदे टास्कलाई क्रमशः पूरा गर्दै लाने बताए।

९ साउनमा एमाले अध्यक्ष र नेपकपाका संयोजक प्रचण्डबिच प्रदेशमा नयाँ सत्तागठबन्धन बनाउनेबारे तीनबुँदे सहमति भएको थियो। त्यसपछि कोशीमा नेकपाले मुख्यमन्त्री दाबी गरेको थियो। तर, कोशी प्रदेशको नेतृत्व एमालेकै भागमा परेपछि मुख्यमन्त्री परिवर्तन गर्ने, नगर्नेबारे एमालेभित्र किचलो सुरु भएको थियो।

कोशीको किचलो मिलाउन अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई गत शनिबारदेखि सक्रिय रूपले खटिएका थिए। उनले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन निर्देशनसमेत दिए। तर, कार्कीले केन्द्रीय सचिवालयबाट निर्णय नभएसम्म राजीनामा नदिने अडान लिए। 

पछि अध्यक्ष ओलीले कार्कीलाई काठमाडौँ बोलाएर छलफल गरेपछि तत्काल कोशीको नेतृत्वमा मुख्यमन्त्री कार्कीलाई नै निरन्तरता दिन भनेका छन्।
 

सुझावित समाचार