चौथो ताप्लेजुङ गोल्डकपको तयारी तीव्र, आयोजक टोलीका १७ खेलाडी छनोट

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङमा भदौ १२ देखि १९ गतेसम्म सञ्चालन हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताकाे तयारी तीव्र पारिएको छ । प्रतियोगितालाई लक्षित गर्दै आयोजक लाखेजात्रा सञ्चालन समितिले खेल मैदान व्यवस्था, अस्थायी प्यारापिट निर्माण र आयाेजक टोलीका खेलाडी छनोटको कामलाई अन्तिम चरणमा पुर्याएको छ। 

प्रतियोगितामा आयोजकको तर्फबाट प्रतिस्पर्धा गर्ने १७ खेलाडीको छनोट गरिएको छ । साउन १८ र १९ दुई दिन सञ्चालन गरिएको छनोट खेलका आधारमा खेलाडी छनोट गरिएको हो । खेलाडी छनोट उपसमितिले खेलाडी छनोट गरिएको लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए ।

छनोट उपसमितिमा  देवकुमार मादेन, सन्तोष गुरुङ, रमेश चोङबाङ र दीपेश आङबुहाङ रहेका छन् । जिल्ला फुटबल संघका प्रशिक्षकसमेत रहेका देवकुमार मादेनका अनुसार सागर श्रेष्ठ, प्रनिस गुरुङ, भाइचुङ शेर्पा, नवीन खवास, सुनुयोजित यक्सो, सञ्जुहाङ साँवा, सविन तामाङ, सविन लिम्बू, शिशिर राई, मञ्जित लिम्बू, विवेक मादेन, पवन लिम्बू, पासाङ शेर्पा, दीपेश लिम्बू र सुहाङ लिम्बू आयोजक टोलीबाट खेल्न छनोट भएका छन् । 

भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने भएको हो। खेलमैदान तीन महिनादेखि बालबालिका पस्न नदिई घाँसेमैदानमा परिणत बनाइएको थियो। सो मैदानमा रहेको घाँसलाई व्यवस्थापन गर्ने काम भइरहेको छ । खेलमैदानमा बाँसको प्यारापिट बनाउने काम पनि भइरहेको छ। सो प्यारापिटमा पाँच हजार दर्शकहरू अटाउन सकिने गरी बनाइएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताए ।

यस वर्षको प्रतियोगितामा आठ टोलीकाे सहभागिता रहने  बताएको छ। आयोजक समितिका अध्यक्ष मादेनका अनुसार पाँचथर, इलाम, काठमाडाैंको सातदोबाटो र सहलेस क्लब सिराहा आउने पक्का भएको छ भने भारत र भुटानको टोलीको पक्का हुन बाँकी रहेको छ। 

प्रतियोगिताको पुरस्कार राशि अघिल्लो संस्करणभन्दा वृद्धि गरिने बताइएको छ। गत वर्ष विजेताले सात लाख दुई हजार ८२ रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए। यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटरमध्ये एक पुरस्कार प्रदान गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यलाई निरन्तरता दिँदै यस वर्ष प्रतियोगिताको खेलतालिका फक्ताङलुङ गाउँपालिका– ७ स्थित करिब चार हजार आठ सय मिटर उचाइको स्याम्दो पोखरीबाट सार्वजनिक गर्ने तयारी गरिएको छ । 

प्रतियोगितालाई लक्षित गर्दै आयोजकले यस वर्ष सम्पूर्ण खेलका लागि प्रतिव्यक्ति तीन हजार रुपैयाँको टिकट प्याकेज सार्वजनिक गरी बिक्रीसमेत सुरु गरिसकेको जनाएको छ। पहाडी क्षेत्रमा सर्वाधिक दर्शक उपस्थित हुने फुटबल प्रतियोगितामध्ये एक मानिने ताप्लेजुङ गोल्डकपलाई यस वर्ष अझ व्यवस्थित, आकर्षक र भव्य बनाउने तयारी रहेको अध्यक्ष मादेनले बताए। 
 

सुझावित समाचार