स्वास्थ्य क्षेत्रमा एकपछि अर्को आन्दोलन : नर्सहरू आन्दोलनमै रहेका वेला इन्टर्न चिकित्सक पनि अनशनमा

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण
स्वास्थ्य क्षेत्रमा एकपछि अर्को आन्दोलन : नर्सहरू आन्दोलनमै रहेका वेला इन्टर्न चिकित्सक पनि अनशनमा

आन्दोलनरत इन्टर्न चिकित्सकको नेतृत्व गरेका डिल्ली हरिजनले थाले माइतीघरमा अनशन । तस्बिर : दिपेन्द्र ढुंगाना

  • हाल नेपालभर निजी र सरकारी मेडिकल कलेजमा गरी १७ सय इन्टर्न डाक्टर अध्ययन गर्छन् । तर, निजी र सरकारी दुवैतर्फ उनीहरूको ड्युटी तालिका स्पष्ट छैन ।

स्वास्थ्य क्षेत्रमा भएका एकपछि अर्को आन्दोलनले सेवा नै प्रभावित हुन थालेको छ । विभिन्न १५ सूत्रीय माग राखी देशभरका नर्स आन्दोलनमा रहेकै वेला एमबिबिएस तथा बिडिएसका इन्टर्न चिकित्सक पनि आन्दोलनमा उत्रेका छन् ।

सुरक्षित कार्यक्षेत्रसहितका माग राखेर देशैभरका चिकित्सक गत साता आन्दोलनमा उत्रिएका थिए, जसका कारण दुई दिन ओपिडी सेवा नै ठप्प भयो । सबै चिकित्सक आन्दोलनमा उत्रिएपछि सरकारले बिहीबार उनीहरूसँग सहमति गर्यो । त्यसपछि चिकित्सक नियमित काममा फर्केका थिए ।

चिकित्सकसँग सहमति गरेकै दिनदेखि १५बुँदे मागसहित नर्स ज्योति रानामाट अनशनमा बसिन् । उनीसँगै देशैभरका नर्स आन्दोलनमा उत्रिएका छन् । नर्सको आन्दोलनमा नेपाल नर्सिङ संघ, सरकारी तथा निजी अस्पतालमा कार्यरत नर्स र नेपाल चिकित्सक संघले ऐक्यबद्धता जनाएका छन् ।

सरकार र आन्दोलनरत नर्सबिच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन । यहीबिचमा मंगलबारदेखि एमबिबिएस तथा बिडिएसका इन्टर्न चिकित्सक अनशनमा बसेका छन् । देशभरका शिक्षण संस्थामा काम गर्ने एक हजार सात सय डाक्टर अनशनसहितका आन्दोलनमा उत्रिएका हुन् ।

शिक्षण अस्पतालहरूले कार्यबोझ थुपारेर आफूहरूमाथि अन्याय गरेको उनीहरूको गुनासो छ । चार महिनाअघिदेखि अगाडि सारेका विभिन्न माग सम्बोधनमा सरकारले चासो नदिएको भन्दै उनीहरूले मंगलबार बिहान १० बजेदेखि अनशन थालेका हुन् ।

आन्दोलनरत इन्टर्न चिकित्सकको नेतृत्व गरेका डिल्ली हरिजन अनशन बसेका छन् । यसमा देशभरकै इन्टर्न चिकित्सकले ऐक्यबद्धता जनाएका छन् । यसअघिका सम्झौता पूरा नभएपछि अनशन बस्न बाध्य भएको डाक्टर हरिजनले बताए । पटक–पटक स्वास्थ्य र शिक्षा मन्त्रालयसँग संवाद तथा छलफल गरे पनि सम्बन्धित मन्त्रालय र चिकित्सा शिक्षा आयोगले चासो नदिएको उनको भनाइ छ ।

आन्दोलनरत चिकित्सकहरूले इन्टर्न डाक्टरको ड्युटी श्रम ऐनअनुसार दिनको आठ घण्टा र सातामा ४८ घण्टा कायम हुनुपर्ने, मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, अब अतिरिक्त शुल्क लिन नहुने, होस्टलमा बस्नुपर्ने अनिवार्य नियम हटाउनुपर्ने र कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक हुनुपर्नेलगायतका माग राखेका छन् ।

माग सम्बोधन नभएसम्म अनशन जारी रहने डाक्टर हरिजनले बताए । ‘कार्यदलको प्रतिवेदन सार्वजनिक र कार्यान्वयनमा आनाकानी भएपछि नयाँ चरणको आन्दोनल सुरु गरेका हौँ । माग पूरा नभएसम्म अनशन जारी रहन्छ,’ उनले भने, ‘इन्टर्न डाक्टरमाथि श्रमशोषण भएको छ । २४ घण्टासम्म लगातार ड्युटी गर्नुपरेको छ, तोकिएभन्दा बढी शुल्क तिर्नुपरेको छ ।’

श्रम ऐन, २०४८ को दफा २८ ले एक दिनमा आठ घण्टा र एक सातामा ४८ घण्टा काम लगाउन सक्ने भनेर किटान गरेको छ । तर, मेडिकल कलेजहरूले लगातार २४ घण्टासम्म ड्युटीमा खटाउने गरेको आन्दोलनरत डाक्टरहरूको गुनासो छ ।

दुई वर्षअधि इन्टर्न डाक्टरहरूले आन्दोलन चर्काएपछि निजी शिक्षण अस्पतालहरूले उनीहरूको पारिश्रमिक दिन थालेका छन् । तर, धेरै समय काम गराउने गरेको आरोप छ ।

त्यस्तै, परीक्षा र प्रयोगात्मक शुल्क भनेर चार–पाँच लाख रुपैयाँ बढी शुल्क लिने गरेका छन् । जब कि एमबिबिएस पढ्नका लागि विद्यार्थीले पढाइ अवधिभर ४२ लाख शुल्क तिर्छन् । तर, प्रयोगात्मक तथा परीक्षा शुल्क भनेर शिक्षण अस्पतालले बढी शुल्क लिने गरेको आरोप छ ।

हाल नेपालभर निजी र सरकारी मेडिकल कलेजमा गरी एक हजार सात सय इन्टर्न डाक्टर अध्ययन गर्छन् । तर, निजी र सरकारी दुवैतर्फ उनीहरूको ड्युटी तालिका स्पष्ट छैन ।

इन्टर्न डाक्टरको माग पूरा गर्नका लागि एक महिनाअघि सरकारद्वारा गठित कार्यदलले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । तर, सार्वजनिक भने गरिएको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले इन्टर्न डाक्टरहरूको काममा सरकार जिम्मेवार रहेको बताए । ‘सम्बन्धित महाशाखाबाट उहाँहरूको माग पूरा गर्नका लागि पहल हुन्छ,’ उनले भने, ‘कानुनअनुसार इन्टर्न डाक्टरहरूले अधिकार पाउनुहुन्छ ।’ 
 

See More On

सुझावित समाचार