एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीका आकांक्षी जगन्नाथ थपलिया अस्वस्थ भएपछि काठमाडौंस्थित वीर अस्पतालमा भर्ना भएका छन्।
उच्च रक्तचाप र मधुमेहको मात्रा बढेपछि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिए।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा प्रदेश सरकार गठन र मुख्यमन्त्री चयनबारे छलफल चलिरहेका वेला थपलिया अचानक अस्वस्थ भई बेहोस भएका थिए। तत्काल भक्तपुरस्थित ठिमी अस्पताल पुर्याइएका उनी प्रारम्भिक उपचारपछि निवास फर्किएका थिए। तर, मंगलबार पुनः उच्च रक्तचाप र मधुमेहको मात्रा बढेपछि अस्पताल भर्ना गरिएको प्रमुख सचेतक श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार थपलियाको स्वास्थ्य अवस्था अहिले सामान्य छ र चिकित्सकको निगरानीमा राखिएको छ। ‘उहाँको अवस्था अहिले सामान्य नै छ। तर, चिकित्सकले केही समय अब्जर्भेसनमा राख्नुपर्ने र आराम गर्नुपर्ने सुझाव दिनुभएको छ,’ उनले भने, ‘उहाँको रक्तचाप उच्च भएको छ भने ज्वरो पनि आएको थियो। त्यसैले थप निगरानीका लागि वीर अस्पतालमा राखिएको हो।’
नेता श्रेष्ठका अनुसार उच्च रक्तचापसँगै मधुमेहको मात्रा पनि बढेका कारण थपलियालाई विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार गराइँदै छ। अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
केन्द्रमा एमाले र नेकपाबिच भएको सत्ता सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भइसकेको छ। तर, मुख्यमन्त्रीका लागि एमालेभित्र संसदीय दलका नेता जगन्नाथ थपलिया, पूर्वस्वास्थ्यमन्त्री किरण थापा र नेता केशव पोखरेलबिच प्रतिस्पर्धा रहेको थियो। यही विषयमा शीर्ष तहमा छलफल भइरहेका वेला थपलिया अस्वस्थ भएको बताइएको छ।
श्रष्ठका अनुसार नेता थपलियालाई चिकित्सकले केही दिन पूर्ण आराम गर्न सुझाव दिएका छन्। स्वास्थ्यमा सुधार आएपछि मात्रै उनी राजनीतिक भेटघाट र नियमित गतिविधिमा फर्किने उनले बताए।