मोटरसाइकल दुर्घटनापछि उद्धार गर्नुको सट्टा घाइते साथीको हत्या, एकजना पक्राउ

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

बर्दियाको ठाकुरबाबा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गर्ने मोटरसाइकलचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा– ९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र. ००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकलचालक डोटीको शिखर नगरपालिका– ४, तिनाडी स्थायी घर भई ठाकुरबाबा– ७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा– ९ बेथहनीका २७ वर्षीय आसाराम थारू ‘सम्पर्कविहीन’ भएका थिए।

घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसारामको शव फेला परेको थियो। अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका आसाराम थारूलाई उद्धार गर्नुको सट्टा चालक जैसीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी आशारामले लगाएको मालाको डोरीले घाँटी कसेर हत्या गरी शव सिँचाइ नालामा फालेर फरार भएका थिए। जैसीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ।

सुझावित समाचार