वीरगन्जको धरोहरका रूपमा रहेको घण्टाघरको घडी अहिले मर्मत–सम्भारको अभावमा सही समय दिन छाडेको पाइएको छ। सहरको मुटुमा रहेको घण्टाघरका चारवटै घडीले अहिले फरक–फरक समय देखाइरहेका छन्।
गत वर्ष घण्टाघरको रंगरोगन गरिए पनि त्यस क्रममा घडीको मर्मत–सम्भार नगरिएकाले अहिले चारवटै घडीले सही समय दिन छाडेको नगरवासी बताउँछन्।
विगत लामो समयदेखि घण्टाघर चोकमा पत्रिका बेच्दै आएका उमेश कुर्मीले पछिल्ला केही वर्षदेखि घण्टाघरका चारवटै घडीले फरक–फरक समय देखाउँदै आएको बताए।
उनका अनुसार घण्टाघर सहरको मुटु भए पनि नगरपालिकाको बेवास्ताका कारण घडीले सही समय देखाउन छाडेको हो। अर्का स्थानीय शम्भु यादवले ०७४ सालदेखि नै घण्टाघरको घडी नियमित रूपमा सञ्चालन हुन नसकेको आरोप लगाए।
अहिलेका जनप्रतिनिधिले सहरका धरोहर संरक्षणतर्फ ध्यान नदिएकै कारण घण्टाघरको घडीले सही समय देखाउन छाडेको उनको भनाइ छ।
वीरगन्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्र हो। धेरै मानिसको जमघट हुने स्थल पनि घण्टाघर नै हो। त्यही घण्टाघरको घडीले लामो समयदेखि सही समय दिन नसकेको स्थानीयको भनाइ छ।
०७२ सालदेखि बन्द रहेको घण्टाघरको घडी महानगरपालिकाका तत्कालीन नगरप्रमुख विजयकुमार सराबगीको कार्यकालमा ०७८ सालको कात्तिकमा पुनः सञ्चालनमा आएको थियो। त्यसवेलादेखि नियमित सञ्चालनमा रहेको घडीले अहिले फेरि फरक–फरक समय देखाउन थालेको छ।
मर्मत–सम्भारको जिम्मा पाएका व्यक्तिले पाएनन् भुक्तानी
वीरगन्ज घण्टाघरको चार मोहडामा रहेका घडीको नियमित चेकजाँच, आवश्यक मर्मत–सम्भार र सञ्चालन गर्ने जिम्मेवारी लिएका व्यक्तिले रकम नपाएको गुनासो गरेका छन्।
‘वीरेन्द्र प्रभात घडी’ नाम दिइएको घण्टाघरको घडी नियमित सञ्चालन गर्न महानगरपालिकासँग सम्झौता गरेका कलैया उपमहानगरपालिका–२२ का हृदयराज गौतमले काम गरे पनि रकम नपाएको बताएका छन्।
महानगरपालिकाका तत्कालीन नगरप्रमुख विजय सराबगीकै कार्यकालदेखि घण्टाघरको घडी मर्मत गर्दै आएका गौतमले रकम नपाएपछि काम गर्न छाडेको बताए।
०७९ सालको निर्वाचनपछि महानगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि पुनः ०८१ साल मंसिर २५ गते घडीको नियमित चेकजाँच, आवश्यक मर्मत–सम्भार र सञ्चालन गर्ने सम्झौता भएको थियो।
महानगरपालिकाको तर्फबाट तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र जिम्मेवारी पाएका गौतमले सम्झौतामा हस्ताक्षर गरेका थिए।
तर हालसम्म सम्झौताअनुसारको रकम भुक्तानी नभएपछि घण्टाघरको घडीले सही समय दिन छाडेको अवस्था आएको छ।
घडी सञ्चालनको जिम्मेवारी पाएका गौतमले पारिश्रमिकबापत दुई लाख ४० हजार रुपैयाँ र मेसिनबापत चार लाख ५२ हजार रुपैयाँ नपाएको बताएका छन्। पटक–पटक महानगरपालिका कार्यालय पुगेर भुक्तानीका लागि ताकेता गर्दा पनि बेवास्ता गरिएको उनको गुनासो छ।
सम्झौतामा के थियो ?
महानगरपालिकाले घडीको मर्मत–सम्भार र नियमित सञ्चालन गर्न वार्षिक दुई लाख ४० हजार रुपैयाँमा सम्झौता गरेको उल्लेख छ। सम्झौतामा ०८१ साल मंसिर २५ गतेदेखि ०८२ साल मंसिरसम्म घडीको रेखदेख गर्ने उल्लेख गरिएको थियो।
सम्झौताका विभिन्न १० वटा बुँदामा मर्मत–सम्भारका क्रममा आवश्यक पर्ने सामग्री महानगरपालिकाले उपलब्ध गराउने भनिएको छ।
यस्तै, मानवीय नियन्त्रणभन्दा बाहिरका घटना जस्तै भूकम्प, चट्याङ, विद्युत् आपूर्तिमा समस्या, हावाहुरी वा इलेक्ट्रिक सर्ट भएर घडी सञ्चालनमा समस्या आएमा त्यसको जिम्मेवारी महानगरपालिकाको हुने उल्लेख छ।
घडीमा लाग्ने ब्याट्री, चार्जिङ प्रणाली, चारवटा यन्त्र तथा केन्द्रीय नियन्त्रण प्रणालीसहितका सामग्री उपलब्ध गराउने जिम्मेवारी लिने पक्षलाई दिइएको थियो।
सम्झौताको समयमा साक्षी बसेका योजना तथा पूर्वाधार विकास महाशाखाका प्रमुख अवधेशप्रसाद कुशवाहासँग यस विषयमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन।
वीरगन्जको घण्टाघर सन् १९७९ फेब्रुअरी ८ तारिखमा निर्माण भएको बताइन्छ। स्थानीय ज्येष्ठ नागरिकहरूका अनुसार जापानको योनागो सहरका विद्यार्थीहरूले एक दिनको खाजा खर्च कटाएर घण्टाघर निर्माण र त्यहाँ घडी जडान गर्न आवश्यक बजेट जुटाएका थिए।