परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

नेपाल परराष्ट्र सेवाका अधिकृतहरूको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) ले कूटनीतिक भाषा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित सगरमाथा सभाकक्षमा आयोजना गरेको कूटनीतिक भाषा प्रशिक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम- २०२६ मार्फत प्रशिक्षण कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक भाषा प्रशिक्षणसम्बन्धी पहलको औपचारिक शुभारम्भ गरे । उनले कूटनीतिको मूल आधार नै संवाद रहेको बताए । नयाँ भाषा सिकाइले विश्वदृष्टिलाई फराकिलो बनाउने उल्लेख गर्दै उनले नयाँ समुदायसँग सम्बन्ध स्थापित गर्न, विचारहरू प्रत्यक्ष रूपमा आदान–प्रदान गर्न तथा नेपालको कथा विश्वभर पुर्याउन भाषिक दक्षताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

भाषा प्रशिक्षण कार्यक्रमको उद्देश्य परराष्ट्र सेवाका अधिकृतहरूको भाषिक दक्षता अभिवृद्धि गर्दै कूटनीतिक संलग्नता तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उनीहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनु रहेको आइएफएले जनाएको छ । आइएफएकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले विश्वास निर्माण, कूटनीतिक सम्बन्ध सुदृढीकरण तथा नेपालको ‘सफ्ट पावर’ र सार्वजनिक कूटनीति प्रवर्द्धनमा भाषा तथा सांस्कृतिक समझदारीको महत्त्व रहेको बताइन् । उनले कार्यक्रमको सफलता र निरन्तरताका लागि सहभागी अधिकृतहरूको अनुशासन र निरन्तर प्रतिबद्धताका साथै परराष्ट्र मन्त्रालयको संस्थागत स्वामित्व र निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिइन् ।

नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चिनियाँ भाषा सिकाइ तथा नेपाल–चीन सम्बन्धका विषयमा मन्तव्य दिए । त्यसैगरी, नेपालका लागि फ्रान्सेली राजदूतावासकी कार्यवाहक राजदूत एल्जा क्यालेले फ्रान्सेली भाषा सिकाइ तथा नेपाल–फ्रान्स सम्बन्धका विषयमा धारणा राखिन् ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटका नेपाल निर्देशक डा. बलराम दुवाल र अलायन्स फ्रान्सेज द काठमाडौंकी पाठ्यक्रम निर्देशक आन–लोर पोटिएले क्रमशः चिनियाँ र फ्रान्सेली भाषा प्रशिक्षणसम्बन्धी पाठ्यक्रमको परिचय दिँदै यसको संरचना तथा सिकाइका उद्देश्यबारे जानकारी गराए ।

आइएफएका अनुसार चिनियाँ भाषा प्रशिक्षण त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटको सहकार्यमा तथा फ्रान्सेली भाषा प्रशिक्षण अलायन्स फ्रान्सेज द काठमाडौंको सहयोगमा सञ्चालन हुनेछ । अरबी भाषा प्रशिक्षणसमेत आगामी दुई साताभित्र सुरु गरिनेछ । चिनियाँ भाषा कक्षा प्रत्येक साता तीन दिन तथा फ्रान्सेली र अरबी भाषा कक्षा प्रत्येक साता दुई–दुई दिन सञ्चालन हुनेछन् ।

प्रत्येक कक्षा डेढ घण्टाको हुनेछ । आइएफएले विदेशी भाषा सिकाइलाई क्रमशः नेपालको कूटनीतिक प्रशिक्षण प्रणालीमा एकीकृत गर्दै नेपाल परराष्ट्र सेवाका अधिकृतहरूको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने बृहत्तर प्रयासअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
 

सुझावित समाचार