सोमबार बिहान विराटनगरको औद्योगिक घराना देवेनारा ग्रुपको मुन्दडा निवासमा प्रहरीले छापा मारेको घटनाप्रति नेपाल उद्योग परिसंघ –सिएनआई) कोशी प्रदेशले आपत्ति जनाएको छ।
देवेनारा औद्योगिक ग्रुपका सञ्चालक तथा सिएनआई कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको निजी निवास र कार्यालयमा प्रहरीले एकाबिहानै बिना आधार पाँच घण्टा छापा मारेर त्रसित बनाएको भन्दै कोशी प्रदेश समितिले गम्भिर आपत्ति जनाएको हो।
सोमबार बिहान मोरङ प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी करिब साढे पाँच घण्टासम्म गरेको खानतलासीले सम्बन्धित परिवारसँगै समग्र उद्योगी–व्यवसायीको मनोबलमा नकारात्मक असर परेको सिएनआई कोशीका अध्यक्ष पवनकुमार सारडाले बताएका छन्। राज्यसँग कानुनबमोजिम अनुसन्धान गर्ने अधिकार भए पनि त्यसको प्रयोग गर्दा संविधानले प्रत्याभूत गरेका मौलिक हक, गोपनीयताको अधिकार, मानव मर्यादा र सम्मानको पूर्ण संरक्षण हुनुपर्नेमा त्यसो नगरी विनाआधार ठूलो संख्यामा प्रहरी परिचालन गरेर आतंक सृजना गरेको अध्यक्ष सारडाको आरोप छ।
‘बिहान उज्यालो नहुँदै निजी निवासलाई चारैतिरबाट घेराबन्दी गरी ठूलो संख्यामा प्रहरी परिचालन गर्नु, परिवारका सदस्य तथा ज्येष्ठ नागरिकलाई लामो समयसम्म मानसिक दबाबमा राख्नु र लामो समयसम्म खानतलासी सञ्चालन गर्नु उचित होइन। यदि यस्तो कारबाही अपरिहार्य थियो भने त्यसको कानुनी आधार, आवश्यकता र उद्देश्यबारे राज्यले पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ’, उद्योग परिसंघ कोशीले भनेको छ।
परिसंघले उक्त खानतलासी कुन कानुनी आधार, कुन सूचना वा कुन आवश्यकताका आधारमा गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक गर्न तथा खोजतलासबाट के प्राप्त भयो भन्ने विषयमा कानुनसम्मत सीमाभित्र आवश्यक जानकारी नागरिकलाई उपलब्ध गराउन माग गरेको छ।
परिसंघले विधिको शासन, निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै कानुन कार्यान्वयनका नाममा उद्योगी, व्यवसायी तथा लगानीकर्ताको सम्मान र प्रतिष्ठामा अनावश्यक क्षति पुग्ने कार्य लोकतान्त्रिक मूल्य, संवैधानिक भावना र लगानीमैत्री वातावरणको मर्मविपरीत हुने उल्लेख गर्दै घटना नदोहोर्याउन गृह प्रसाशनसँग आग्रह गरेको छ।
विराटनगरको औद्योगिक घराना देवेनारा ग्रुपको गोल्छाचौकस्थित मुन्दडा निवासमा सोमबार बिहान ५ बजेदेखी १० बजेसम्म कडा सुरक्षा घेरामा पाँच घण्टा छापा मारेर प्रहरी टोली रित्तो हात फर्किएको थियो। देवेनारा समूहले अगरबत्ती, जुटमिल, साबुन, चाँदीका गरगहनालगायत विभिन्न उद्योग सञ्चालन गर्दै आएको छ। मुख्य गेट र सडकको आवतजावत बन्द गरेर पाँच घण्टा छापा मारे पनि केही फेला नपरेकाले प्रहरी रित्तोहात फर्किएको उद्योगी वेनीगोपाल मुन्दडाले बताए।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले कानुनविपरीतका सामग्रीहरु भएको सूचनाका अधारमा कानुनी प्रकृयाअनुसार नै मुन्दडा निवासमा छापा मारेको र केही बरामद नभएको जानकारी गराएका छन्।