कुनै पनि बहानामा विद्यार्थीलाई अपमान नगर्न परिषद्को निर्देशन, जबर्जस्ती कपाल कटाए कारबाहीको चेतावनी

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय बाल अधिकार परिषद्ले कक्षाकोठा वा विद्यालय-परिसरभित्र विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने कुनै पनि गतिविधि नगर्न, नगराउन निर्देशन दिएको छ।

विद्यालयमा विद्यार्थीहरूको कपाल जबर्जस्ती काटिदिएको भन्ने विषयमा उजुरी आएपछि परिषद्ले विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई ध्यानाकर्षण गराएको हो।

पोसाक वा साजसज्जासम्बन्धी मापदण्ड पालना नगरेको, शुल्क नतिरेकोजस्ता कारणले अपमानित गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने, कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने, जबर्जस्ती कपाल काट्‌न लगाउनेजस्ता आधारमा विद्यार्थीको आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्यलगायतमा असर पार्ने काम नगर्न परिषद्ले भनेको छ।

नेपाल बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र भएको संविधानमै बालबालिकाको मौलिक हकको व्यवस्था भएकोलगायतका कानुनी आधार स्मरण गराउँदै परिषद्ले घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने कार्यलाई बालबालिकाविरुद्धको हिंसा तथा कसुर मानिने प्रस्ट पारेको छ।

यस्तो कार्य गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुने उल्लेख गर्दै परिषद्ले भनेको छ, ‘...निजको आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्य वा मनोसमाजिक अवस्थामाथि प्रतिकूल असर पुग्ने कुनै कार्य वा व्यवहार विद्यालयमा निषेध गर्न आचारसंहिता बनाई लागू गरी बाल अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि सबै विद्यालय प्रशासन तथा व्यवस्थापन समितिलाई परिषद् हार्दिक अपिल गर्दछ।’

सुझावित समाचार