नेपालको राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष रूपमा नजोडिएको स्थानीय तहका रूपमा परिचित मनाङको नार्पाभूमि गाउँपालिका अब सडक पहुँचमा जोडिने भएको छ । गाउँपालिका केन्द्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मस्याङ्दी–नारफू पुल आइतबार गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले विशेष समारोहबिच उद्घाटन गरे।
वर्षौँदेखि मस्याङ्दी नदी गाउँपालिकाको सडक पहुँचमा सबैभन्दा ठुलो अवरोधका रूपमा रहेको थियो। स्थानीयवासीले नदी पार गर्न पैदल यात्रा, अस्थायी साधन तथा जोखिमपूर्ण बाटोको भर पर्नुपर्ने अवस्था थियो। विशेषगरी वर्षायाममा आवतजावत अत्यन्त कठिन र जोखिमपूर्ण बन्दै आएको थियो। पुल सञ्चालनमा आएपछि गाउँपालिका केन्द्र पहिलोपटक सडक सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिएको छ, जसले स्थानीयवासीमा नयाँ उत्साह र आशा थपेको छ।
यो पुल नार्पाभूमि गाउँपालिकाको पूर्वाधार विकास इतिहासकै महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पुल निर्माणका लागि गाउँपालिकाले लामो समयदेखि विभिन्न निकायसँग समन्वय र पहल गर्दै आएको थियो। गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले यस आयोजनालाई उच्च प्राथमिकतामा राख्दै निरन्तर समन्वय, सहजीकरण र नेतृत्व प्रदान गरेपछि गाउँपालिका र निजी क्षेत्रबिच सहकार्यको वातावरण बनेको स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले बताएका छन्।
नार्पा भूमि गाउँपालिका र नारखोला हाइड्रो इनर्जी प्रा.लि.को साझेदारीमा निर्माण भएको पुल सम्झौता भएको मितिबाट केवल सात महिनामै सम्पन्न गरिएको हो। दुर्गम हिमाली भूगोल, कठिन भौगोलिक अवस्था तथा सीमित निर्माण मौसमका बाबजुद छोटो समयमै आयोजना सम्पन्न हुनु उल्लेखनीय उपलब्धि मानिएको छ।
करिब ६ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाइ ५४.५ मिटर र चौडाइ चार मिटर रहेको छ। हाल पुल ५५ टन भारवहन क्षमताअनुसार निर्माण गरिएको भए पनि आवश्यक प्राविधिक व्यवस्थापनपछि यसको क्षमता ६५ टनसम्म विस्तार गर्न सकिने प्राविधिकहरूले बताएका छन्।
५४.५ मिटर लम्बाइको मस्याङ्दी–नारफू पुल मनाङ जिल्लामा हालसम्म निर्माण भएका बेलिब्रिजमध्ये सबैभन्दा लामो बेलिब्रिज बनेको छ। स्थानीयवासीका अनुसार यसले नार्पा भूमि गाउँपालिकाको मात्र नभई समग्र मनाङ जिल्लाको पूर्वाधार विकासमा नयाँ कीर्तिमान कायम गरेको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले मस्याङ्दी–नारफू पुललाई नार्पा भूमिको समृद्धितर्फको ऐतिहासिक प्रवेशद्वारको संज्ञा दिए। सीमित स्रोत–साधनका बाबजुद निजी क्षेत्रसँगको सहकार्यबाट यति महत्त्वपूर्ण आयोजना सम्पन्न हुनु गौरवको विषय भएको उनले बताए।
उनले भने, ‘यो पुलले दुई किनारा मात्र जोडेको छैन, यसले नार्पाभूमिको भविष्य जोडेको छ। अब सडक पहुँचसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार, सरकारी सेवा प्रवाह तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउने विश्वास लिएका छौँ।’
पुल सञ्चालनमा आएपछि निर्माण सामग्री, खाद्यान्न, औषधि तथा अत्यावश्यक वस्तुको ढुवानी सहज हुने, कृषिजन्य तथा पशुजन्य उत्पादनले सहज बजार पाउने, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा आपतकालीन उद्धार कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। स्थानीयवासीका अनुसार सडक पहुँचसँग जोडिनु नार्पाभूमिको दशकौँदेखिको सपना थियो, जुन आज साकार भएको हो।
स्थानीयवासीले गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाको निरन्तर पहल तथा नारखोला हाइड्रो इनर्जी प्रा.लि.को सामाजिक उत्तरदायित्वअन्तर्गतको योगदानको उच्च प्रशंसा गरेका छन्। उनीहरूका अनुसार सरकारी निकाय र निजी क्षेत्रबिचको सहकार्यले दुर्गम क्षेत्रमा पनि गुणस्तरीय पूर्वाधार निर्माण सम्भव हुने उदाहरण प्रस्तुत गरेको छ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नारखोला हाइड्रो इनर्जी प्रा.लि.का पदाधिकारी, निर्माण कम्पनीका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीयवासी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
हिमाली जिल्लाको विकट भूगोलमा निर्माण सम्पन्न भएको मस्याङ्दी–नारफू पुल अब केवल एउटा भौतिक संरचना मात्र नभई नार्पाभूमिको विकास, समृद्धि र सम्भावनाको प्रतीक बनेको छ। मनाङ जिल्लाकै सबैभन्दा लामो बेलिब्रिजका रूपमा स्थापित यस पुलले नार्पाभूमिलाई पहिलोपटक राष्ट्रिय सडक सञ्जालसँग जोड्दै जिल्लाको पूर्वाधार विकास इतिहासमा नयाँ अध्याय थपेको छ।