विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउची आइतबार दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका छन्। जापानका नागरिक डा. कुराउची नेपाल भेटेरिनरी एसोसिएसनको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्।
नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार भ्रमणका क्रममा डा. कुराउचीले सोमबार एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीको नेतृत्वमा पशु सेवा क्षेत्रसँग आबद्ध प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
उनले नेपालमा जारी ७५औँ अन्तर्राष्ट्रिय भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन कंग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
भ्रमणकै अवसरमा नेपाल भेटेरिनरी एसोसिएसन र फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन्स (FAVA) बिच ‘वन हेल्थ’ अवधारणासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ।
महासचिव न्यौपानेका अनुसार उक्त समझदारीले नेपाल र जापानका पशु चिकित्सकबिच ज्ञान, अनुभव तथा प्रविधिको आदान–प्रदानलाई प्रोत्साहन गर्नुका साथै पेसागत क्षमता अभिवृद्धिमा सहकार्य विस्तार गर्ने आधार तयार पार्नेछ।
विश्व भेटेरिनरी क्षेत्रको सर्वोच्च नेतृत्वको नेपाल भ्रमणलाई पशु स्वास्थ्यका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठान गर्ने तथा नेपाल–जापानबिचको पेसागत सहकार्य र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
डा. कुराउचीले नेपाल बसाइका क्रममा विभिन्न उच्चस्तरीय भेटघाट तथा कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ। उनी मंगलबार स्वदेश फर्कनेछन्।