राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरूले सम्बन्धित निकायसँग फिफाको निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले निलम्बनका बाबजुद पनि नेपालले आसन्न साफ च्याम्पियनसिप, २०२६ मा खेल्ने सम्भावना रहेको जनाएपछि आइतबार खेलाडीहरूले सामाजिक सञ्जालबाट यस्तो आग्रह गरेका हुन् । उनीहरूले साफ च्याम्पियनसिप खेल्ने वातावरण बनाउन सरोकारवाला निकायले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने जनाए । १५आँै संस्करणको साफ आगामी १८ देखि ३१ कात्तिकमा बंगलादेशको ढाकामा हुँदै छ ।
नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बू र अट्याकिङ मिडफिल्डर मनीष डाँगीले राष्ट्रिय टोलीबाट खेल्नु केवल खेल नभई गौरव, पहिचान र सम्मान रहेको बताए । ‘हाम्रो चाहना निलम्बन फुकुवासँगै घरेलु फुटबललाई चलायमान बनाउनु हो । यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ,’ खेलाडीहरूले सोसल मिडियामा भनेका छन् ।
साफले शनिबार १५औँ संस्करणको ‘ड्र’ सार्वजनिक गरेको छ । ‘ड्र’मा नेपालको नाम समावेश थिएन । तर, साफले च्याम्पियनसिपअघि निलम्बन फुकुवा भए प्रतियोगितामा सहभागिता गराउने बताएको छ । ‘च्याम्पियनसिपअगाडि प्रतिबन्ध फुकुवा भए नेपाललाई प्रतियोगितामा सहभागी गराउन सकिनेछ,’ साफले भनेको छ, ‘यसका लागि समूह निर्धारण गरेका छौँ ।’
अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप फुटबल प्रतियोगिता चलिरहँदा फिफाले ११ असारमा नेपालमाथि अनिश्चितकालीन निलम्बन गरेको थियो । फिफाले नेपाली फुटबलमाथि तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै निलम्बन गरेको हो । ‘नेपालमा तेस्रो पक्षको हस्तक्षेप भएको देखिन्छ । फिफाले फुटबलमा तेस्रो पक्ष हस्तक्षेप स्वीकार गर्दैन ।
यसकारण अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अनिश्चितकालीन निलम्बन गरेका हौँ,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । निलम्बनको एक महिनाभन्दा बढी समय बित्दा पनि सम्बन्धित निकायले एकआपसमा छलफलसमेत गरेका छैनन् । यसको निकासका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद् र एन्फाबिच छलफल हुनुपर्ने खेलाडीहरू बताउँछन् ।
राष्ट्रका लागि खेल्दा गौरव
फुटबलर मनीषले आइतबार सोसल मिडियाबाट प्रतिबन्ध हट्दा नेपालको साफ खेल्ने सम्भावना रहेको बताए । उनले लेखेका छन्, ‘नेपाली फुटबलमाथि लगाइएको फिफा निलम्बन हटाइदिनुहोस् । राष्ट्रका लागि खेल्नु गौरव, पहिचान र सम्मान हो । खेलाडीहरू यसैका लागि वर्षभर मिहिनेत गर्छन् । हाम्रो झन्डा, जनता र सपनाको प्रतिनिधित्व गर्न पाऔँ ।’
राष्ट्रिय टोलीका कप्तान किरण फुटबलमा भएका विवादित विषयमा त्यति टिप्पणी गर्दैनन् । तर, उनले पनि निलम्बन हुनु एक फुटबल खेलाडीका लागि पीडादायी क्षण भएको बताए । निलम्बन हुँदा आफूहरूले अन्तर्राष्ट्रिय फुटबलमा अवसर गुमाएको जनाए । उनले पुनः अन्तर्राष्ट्रिय मैदानमा फर्काउने वातावरण बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।
‘साफको ‘ड्र’मा नेपालको नाम नहुँदा दुःख लागेको छ । हामीले सधैँ गर्व, जोस र आशाका साथ देशका लागि खेलेका छौँ । प्रतिबन्ध चाँडै हट्नेछ । नेपालले फेरि मैदानमा फर्केर समर्थकलाई गर्व गराउनेछ भन्ने आशा छ ।’ सोसल मिडियामा मनीषले निलम्बनको विषयमा लेखेपछि किरणले पनि आफ्नो भनाइ राखेका हुन् । पछिल्लो समय किरणमाथि एन्फा नेतृत्वको विषयमा बोल्न आनाकानी गर्दै आएको आरोप छ ।
नेपाली फुटबलको नजरमा साफ ठुलो प्रतियोगिता
नेपाली राष्ट्रिय फुटबल टोलीले नियमित खेल्ने प्रतियोगिता नै साफ हो । साफको १४औँ संस्करण सकिँदा पनि नेपालले उपाधि जित्न सकेको छैन । नेपाल एकपटक मात्र फाइनलमा पुगेको थियो । सन् २०१९ मा माल्दिभ्समा भएको प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको थियो । तर, फाइनलमा भारतसँग पराजित भयो ।
नेपालले एएफसी र फिफाको प्रतियोगिता खेल्ने अवसर कम पाउँछ । एएफसीको ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न नेपालले छनोट चरण नै पार गर्न सकेको छैन । त्यसैले पनि नेपाली फुटबलरले साफ च्याम्पियनसिपलाई ठुलो प्रतियोगिताका लिने गरेका छन् ।
नेपाल प्रत्येक दुई वर्षमा आयोजना हुने साफ छुटाउन चाहँदैन । साफकोे ‘ड्र’अनुसार फिफाले १ सेप्टेम्बरभित्र एन्फामाथिको निलम्बन फुकुवा गरे नेपाल आयोजक बंगलादेश, श्रीलंका र भुटानसँगै समूह ‘ए’मा रहनेछ । तोकिएको समयभित्र निलम्बन नहटे नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । यस्तो अवस्थामा प्रतियोगितामा ६ टोलीको सहभागिता हुनेछ । साबिक विजेता भारतसँगै माल्दिभ्स र पाकिस्तान समूह ‘बी’मा छन् ।
राखेप र एन्फाबिचको द्वन्द्व
राज्यको निर्देशन र ऐनविपरीत निर्वाचन गर्न कोसिस गरेपछि एन्फामाथि राखेपले गत चैतमा तीन महिनाको प्रतिबन्ध लगाएको थियो । राखेपले ११ बुँदा संशोधन गरेर मात्रै पंकजविक्रम नेम्वाङ नेतृत्वलाई निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, एन्फाले जिल्ला र प्रदेशको निर्वाचनविना नै केन्द्रको निर्वाचनको तयारी र मिति तोकेपछि राखेपले प्रतिबन्ध लगायो ।
यससँगै एन्फा र राखेपबिचको विवाद सतहमा आएको हो । यही विवादलाई फिफाले तेस्रो पक्षका रूपमा लियो । गत असारमा तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै नेपाल अनिश्चितकालीन निलम्बनमा पर्यो । गत ५ असारमा नेम्वाङ नेतृत्वको कार्यसमितिको कार्यकाल सकिएको थियो । राखेपले अहिले पनि राज्यको ऐन र नीतिअनुसार जिल्ला, प्रदेश हुँदै केन्द्रको निर्वाचन हुनुपर्नेमा अडान राखेको छ ।
यो काम गर्न नसक्दा नेम्वाङ र महासचिव किरण राईले राजीनामा दिनुपर्ने र सातदोबाटोस्थित एन्फा मुख्यालय राखेपलाई बुझाउनुपर्ने अडान उसको छ । फिफाको निलम्बनका बाबजुद पनि एन्फा महासचिव किरण राई शनिबार भुटानको थिम्पुमा भएको साफको चुनावी साधारणसभामा सहभागी भए । निलम्बनपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदैन । त्यस्तै पदाधिकारीको भ्रमणदेखि भत्ता सुविधा पाउँदैन । साथै, फिफाको अन्तर्राष्ट्रिय कंग्रेसमा सहभागी हुन पाउँदैन ।
प्रतिबन्ध चाँडै हट्ने विश्वास छ
किरणकुमार लिम्बू, कप्तान
साफको ‘ड्र’मा नेपालको नाम नहुँदा दुःख लागेको छ । हामीले सधैँ गर्व, जोस र आशाका साथ देशका लागि खेलेका छौँ । प्रतिबन्ध चाँडै हट्नेछ । नेपालले फेरि मैदानमा फर्केर समर्थकलाई गर्व गराउनेछ भन्ने आशा छ ।
फिफा निलम्बन हटाइदिनुहोस्
मनीष डाँगी, मिडफिल्डर
नेपाली फुटबलमाथि लगाइएको फिफा निलम्बन हटाइदिनुहोस् । राष्ट्रका लागि खेल्नु गौरव, पहिचान र सम्मान हो । खेलाडीहरू यसैका लागि वर्षभर मिहिनेत गर्छन् । हाम्रो झन्डा, जनता र सपनाको प्रतिनिधित्व गर्न पाऔँ ।
मैदानमा उत्रने अवसर गुमाउनुभएन
हरि खड्का, प्रशिक्षक तथा एन्फा टेक्निकल प्रमुख
सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाली फुटबलका हजारौँ खेलाडीको भविष्य आज अन्योलमा परेको छ । यदि समयमै समाधान खोजिएन भने नेपालले आगामी साफ फुटबल प्रतियोगितासमेत गुमाउने अवस्था सिर्जना हुन सक्छ । खेलाडीहरूको वर्षौँको मिहिनेत, सपना र राष्ट्रको गौरवलाई जोगाउन सम्बन्धित सरोकारवालासँग छलफल गरी कृपया आवश्यक पहल गरिदिनु भई नेपाली खेलाडीलाई मैदानमा उत्रिने वातावरण मिलाइदिनुहुन अनुरोध गर्दछु ।