स्वास्थ्य मन्त्रालयले नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष पदका लागि डा. जया सत्याल, डा. देवकला भण्डारी, डा. श्यामबाबु यादव र डा. सिद्धार्थकुमार ठाकुर गरी चारजनाको नाम सार्वजनिक गरेको छ। उक्त छनोट प्रक्रियाअन्तर्गत सोमबार अन्तर्वार्ता र प्रस्तुतीकरण तोकिएको छ। तर उम्मेदवारहरुको बारेमा आयुर्वेद विशेषज्ञ चिकित्सक समाजले नै भ्रम फैलाएको आरोप लागेको छ। समाजले छनोट प्रक्रियालाई नै बिथोल्न खोजेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
‘उम्मेदवारबारे कानुनी हिसाबले कुनै दुविधा छैन, कसैले म्यानुपुलेट गरेको छ, हामीले नियमभन्दा बाहिर गरेका छैनौं। नेपाल आयुर्वेद चिकित्सा परिषद् ऐन, २०७५ ले जे भनेको छ, त्यहीअनुसार छनोट प्रक्रिया भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले भने, ‘जया सत्यालको बारेमा फैलाइएको भ्रम सत्य होइन, उहाँ नेपालमै पढेको चिकित्सक हो, स्नातकोत्तर तह चीनमा पढेपछि टियुले इकुभ्यालेन्ट गरेको छ। यो नियमसंगत नै छ। अदालनले पनि फैसला गरेको विषय हो, ऐनको व्यवस्थाभन्दा फरक छैन, भ्रम फैलाउनुको कुनै अर्थ छैन।’
स्वास्थ्य मन्त्रालयले शुक्रबार अन्तर्वार्ताका लागि चारजनाको नामावली प्रकाशन गरेको थियो। तर, त्यसमा नाम समावेश भएकी सत्यालको विषयमा भ्रम फैलाइएको भन्दै मन्त्रालयले स्पष्टीकरण दिएको हो। सत्याल हाल आयुर्वेद चिकित्सालय नरदेवीमा वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ १०औं तहमा कार्यरत छिन्। सत्यालले आयुर्वेद विषयमा स्नातकोत्तर नगरेको भन्दै समाजले विरोध गरेको छ। जबकी नेपाल आयुर्वेद चिकित्सा परिषद् ऐन, २०७५ ले अध्यक्ष बन्न आयुर्वेद विज्ञानमा आयुर्वेदाचार्य, वैद्यरत्न, आयुर्वेद स्नातक वा सोसरहको उपाधि प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ।
यसबारेमा सर्वोच्च अदालतले समेत उनको योग्यतालाई योग्य भनेको छ। त्यसमा पनि ऐनले अध्यक्षका लागि आयुर्वेद विषयमा स्नातकोत्तर उपाधि भन्ने अनिवार्य गरेको छैैन। सत्यालले विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट स्नातक तह गरेकी थिइन्। स्नातकोत्तर चीनबाट पढेपछि त्रिविसँग समकक्षता समेत लिएकी थिइन्।
हाल अन्तर्वार्ताको लागि छनोट भएका श्यामबाबु यादव यसअघि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, आयुर्वेद चिकित्सालय नरदेवी, सिंहदरबार वैद्यखाना विकास समिति, राष्ट्रिय आयुर्वेद प्रतिष्ठान, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग आदि विभिन्न निकायमा थिए। त्यस्तै अन्तर्वार्तामा छनोट भएकी देवकला भण्डारी आयुर्वेद विभागको पूर्वमहानिर्देशक हुन्। छनोटमा परेका सिद्धार्थ कुमार ठाकुर हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा ८औं तहमा कार्यरत छन्।
डा. सत्यालले गरिन् खण्डन
आफ्नोविरुद्ध आयुर्वेदिक समाजले भ्रम फैलाएको भन्दै डा. सत्यालले पनि खण्डन गरेकी छिन्। ‘म आयुर्वेद चिकित्सा परिषद्मा दर्तावाल चिकित्सक हुँ, मेरो स्थायी दर्ता नं. एनएएमसी २०० विशेषज्ञ दर्ता ०२ हो। यी दुवै प्रमाणपत्रहरू आयुर्वेद चिकित्सा परिषद्को ऐन र नियमावलीबमोजिम दर्ता भएका हुन्,’ उनले भनेकी छिन्र
आफू आयुर्वेद चिकित्सा परिषद् ऐन २०४५ को दफा २.३ को उपदफा २.३.१.१ ले तोकेको योग्यताबमोजिम अध्यक्ष पदका लागि योग्य रहेको उल्लेख गर्दै उनले भनेकी छिन्, ‘मेरो शैक्षिक योग्यतालाई त्रिभुवन विश्वविद्यालयका सक्षम निकायले समकक्षतासहित आयुर्वेद चिकित्साको स्नातकोत्तर तहसरह हुने भनेर मान्यता दिइसकेको छ, सर्वोच्च अदालतको संयुक्त र पूर्ण इजलाशले समेत उक्त समकक्षतालाइ समान शैक्षिक योग्यता हुने भनी फैसला समेत गरिसकेको छ।’