तरकारी पाएर मख्ख कवाङीका आमाहरू : घरबारीमै फल्न थाल्यो पोषण

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

तुलसीपुर उपमहानगरपालिका– १२, कवाङीकी सुनिता चौधरी आफ्नै गाउँको साझा बगैँचामा फलेको ताजा र पोषिलो तरकारी पाएर निकै मख्ख थिइन् ।

त्यस्तै,  रामकुमारी थारूले पनि गाउँकै तरकारी पाउँदा आफूले नयाँ सन्देश प्राप्त गरेको अनुभूति गरिन् । यो तरकारी केवल उपहार मात्र थिएन, यसले उनीहरूलाई स्वस्थ रहन अनिवार्य रूपमा हरियो सागसब्जी खानुपर्छ भन्ने महत्त्वपूर्ण पाठसमेत सिकाएको उनले बताइन् ।

बेस संस्थाको ‘पोषण मार्फत जीवन रूपान्तरण कार्यक्रम’अन्तर्गत सञ्चालित ‘साझा घरबारी बगैँचा प्रवर्द्धन कार्यक्रम’ले स्थानीय १२ जना महिलालाई यो खुसी र सचेतना बाँडेको हो । हेलेन केलर इन्टरनेसनल, आइडिई र भिटामिन एन्जलको सहयोगमा गठित ‘सुवर्ण कृषक समूह’ले गत वैशाखदेखि नै मेहेनत गरेर उब्जाएको यो तरकारी अहिले ती आमाहरूको भान्छासम्म पुगेको छ ।

कार्यक्रममा वडाध्यक्ष खुसीराम चौधरीले ‘प्रत्येक बार, खाना चार’को सूत्र सिकाउँदै सुत्केरी अवस्थामा पोषिलो खानाको आवश्यकतामा जोड दिए ।

पोषण सहजकर्ता अर्विन्द्र चौधरी र भिएन चौधरीले विशेष गरी ‘सुनौलो हजार दिन’का महिलाहरूले खानपिनमा हेलचेक्य्राइँ गर्दा बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सचेत गराए ।  यसरी वितरण गरिएको पोषिलो सागसब्जी र दिइएको पोषण शिक्षाले कवाङीका आमाहरूमा अब आफ्नै घरबारीको ताजा तरकारी खाएर आफू र बच्चालाई स्वस्थ राख्ने नयाँ चेतनाको सञ्चार गरेको कृषक समुहका अध्यक्ष वसन्त चौधरीले बताए ।

सुझावित समाचार