आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट– २०२६’ सम्पन्न गरेको छ।
शुक्रबार काठमाडौंस्थित होटेल याक एन्ड यतीमा आयोजित कार्यक्रममा कम्पनीसँग आबद्ध रही उत्कृष्ट योगदान पुर्याउने अभिकर्ताहरूलाई सम्मान गरिएको हो। अभिकर्ताहरूलाई थप प्रेरणा प्रदान गर्ने तथा उनीहरूको मिहिनेतको उच्च कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध–निर्देशक हेमराज ढकाल, कम्पनी सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, उच्च व्यवस्थापनका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। उनले कम्पनीको प्रगतिमा अभिकर्ताको मिहिनेत र प्रविधिको प्रयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तारमा कम्पनी केन्द्रित रहने बताए।
आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला आठ वर्षमा कम्पनीले उत्साहजनक प्रगति गरेको उल्लेख गर्दै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लगिएको बताए।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बिमा अभिकर्ताले बिमा परामर्शदाताको भूमिकामा आफूलाई स्थापित गर्नुपर्नेमा जोड दिए। उनले अभिकर्ताको व्यावसायिक क्षमता विकासका लागि कम्पनीले निरन्तर तालिम तथा सहयोग उपलब्ध गराउने बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष ०८२/८३ मा कम्पनीले हासिल गरेको उपलब्धिमा अभिकर्ताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले अभिकर्तालाई प्राथमिकतामा राख्दै कम्पनीले नयाँ योजना ल्याउँदै आएको र डिजिटल सेवाहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा आर्थिक वर्ष ०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने, धेरै बिमालेख जारी गर्ने तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई अवार्ड प्रदान गरिएको थियो।
उत्कृष्ट अभिकर्ताहरूलाई आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा निर्देशकहरू विनोद केसी, उषा ढकाल, सुनीलकुमार पोखरेल र सन्दीप अग्रवाललगायतले सम्मान गरेका थिए।