इपिएसका लागि आवेदन दिने म्याद २० साउनसम्म थप

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण
  • हाल राहदानीको म्याद समाप्त भइसकेका आवेदकले पनि दरखास्त प्रणालीमा सोही म्याद सकिएको राहदानीको विवरण प्रविष्ट गरी आवेदन दिन सक्ने

दक्षिण कोरियाको रोजगारीमा जानुअघि दिनुपर्ने भाषा परीक्षाको आवेदन दिने म्याद २० साउनसम्मका लागि थप गरिएको छ । यसअघि ११ देखि १७ साउनसम्मका लागि आवेदन खुलाइएको थियो । तर, राहदानी बनाउने चाप बढेकाले आवेदन दिनुपर्ने म्याद थप गरिएको वैदेशिक रोजगार विभाग, इपिएस शाखाले जनाएको छ ।

आवेदनका साथ राहदानीलगायतका कागजात पेस गर्नुपर्ने प्रावधान छ । इपिएसको भाषा परीक्षामा आवेदन दिनका लागि राहदानी बनाउनेको चाप अहिले बढेको छ । तर, दरखास्त प्रक्रिया खुला भएसँगै नयाँ राहदानी बनाउन तथा म्याद सकिएका राहदानी नवीकरण गर्न इच्छुक आवेदकहरूको उल्लेख्य उपस्थिति र चापका कारण राहदानी विभाग तथा राहदानी सेवा केन्द्रहरूमा चाप बढेको छ । यहीवेला राहदानी विभाग हाल प्रणाली स्थरीकरणको प्रक्रियामा रहेकाले अत्यावश्यक परेको खण्डमा मात्र राहदानी आवेदन दिन विभागले सूचना जारी गरेको छ ।

‘राहदानी विभागमा परेको अत्यधिक चापलाई न्यूनीकरण गर्न र योग्य तथा इच्छुक कुनै पनि नागरिक दरखास्त फाराम भर्नबाट नछुटून् भन्ने उद्देश्यका साथ एचआरडी कोरिया र विभागको संयुक्त निर्णयबमोजिम अनलाइन दरखास्त पेस गर्ने अन्तिम म्याद २० साउनसम्म विस्तार गरिएको व्यहोरा जानकारी गराइन्छ,’ विभागले सूचनामार्फत भनेको छ । त्यस्तै, हाल राहदानीको म्याद समाप्त भइसकेका आवेदकले पनि दरखास्त प्रणालीमा सोही म्याद सकिएको राहदानीको विवरण प्रविष्ट गरी आवेदन दिन सक्ने व्यवस्थासमेत राखिएको छ ।

भाषा तथा सिप परीक्षा उत्तीर्ण भई रोजगार आवेदन फाराम भर्ने समयसम्ममा बहाल रहेको राहदानी पेस गरे हुने व्यवस्था मिलाइएको विभागले जनाएको छ । त्यसैले भाषा परीक्षाको दरखास्त फाराम भर्ने प्रयोजनकै लागि मात्र राहदानी नवीकरण गर्न हतार नगर्न विभागले अनुरोध गरेको छ ।

यो वर्ष इपिएस प्रणालीमार्फत कोरियाले ७२ सय नेपाली श्रमिकका लागि कोटा निर्धारण गर्दै आवेदन खुलाएको हो । इपिएस शाखाका अनुसार सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा पाँच हजार नेपाली श्रमिकका लागि कोटा निर्धारण भएको छ । त्यस्तै, कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार र सेवा तथा वन क्षेत्रमा समान एक–एक सय नेपाली श्रमिकका लागि कोटा निर्धारण भएको छ ।

तुलनात्मक रूपमा यो वर्ष धेरै कोटा निर्धारण भएको हो । गत वर्ष ५३ सय श्रमिकका लागि कोटा खुलेको थियो । जिटुजी प्रक्रियाबाट नेपाली श्रमिक आपूर्ति हुने भएका कारण कोरियाको रोजगारी तुलनात्मक रूपमा सुरक्षित र आकर्षक मानिने गरेको छ । त्यसैले बर्सेनि एक लाखभन्दा बढी युवा कोरियाली रोजगारीको सपना देखेर भाषा परीक्षामा सामेल हुने गरेका छन् । गत वर्ष ५३ सयका लागि आवेदन खुल्दा एक लाख तीन हजार युवा परीक्षामा सामेल भएका थिए । 

See More On

सुझावित समाचार