स्थानीयको माग पूरा गर्न नसकेपछि सांसद ठाकुरसिंह थारूले गरे स्थानीय तहलाई प्रश्न

शनिबार, १६ साउन, २०८३
डिजिटल संस्करण

स्थानीयले राखेको माग पूरा गर्न नसकेपछि सांसद ठाकुरसिंह थारूले स्थानीय तहलाई नै प्रश्न गरेका छन्। बाँसगढी नगरपालिका- ९ मा पर्ने शान्तिनगर सडकमा ग्राभेल गरिदिन स्थानीयले आग्रह गरेपछि सांसद थारूले केन्द्रीय सरकारले नै ग्राभेलको काम गर्नुपर्ने हो भन्दै स्थानीय तहलाई प्रश्न  गरेका हुन्।

 राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद ठाकुरसिंह थारू

स्थानीयको समस्या सुन्ने क्रममा  मुक्त कमैयाको बसोबास रहेको शान्तिनगरमा पुगेका सांसदलाई स्थानीय बासिन्दाले गाउँमा सडक ग्राभेल नहुँदा बर्खामा हिलोको सामना गर्नुपरेको भन्दै समस्या समाधान गरिदिन भनेका थिए। तर, जनताका समस्या सुनेर समाधानको पहल गर्नुको सट्टा सांसद थारूले सामाजिक सञ्जालमार्फत स्थानीय सरकारतिर औँला तेर्स्याएका हुन्।

​सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ​'यहाँ शतप्रतिशत मुक्त कमैयाको बसोबास छ। उहाँहरूको माग छ- 'आधा गाउँको सडकमा ग्राभेल छैन, हिलो हुन्छ, ग्राभेल हालिदिनुस्।' स्थानीय सरकार आएको एक दशक हुन थालिसक्यो, तर गाउँका कच्ची सडकमा ग्राभेलसम्म हुन नसक्नुले जनताको विश्वास हामीसँग घट्दै जानुको एउटा कारण हुन सक्छ।'

​उनले अगाडि प्रश्न गरेका छन्, 'वडा वा नगरपालिकाले यो काम गरिदिए हुने नि ! कि केन्द्रीय सरकारले नै ग्राभेलको काम गर्नुपर्ने हो हजुर?'

​जनताको समस्या प्रत्यक्ष सुन्न र समाधानको बाटो खोज्न गाउँ पुगेका सांसद स्वयंले स्थानीय तहतिर औँला देखाउँदै उम्कन खोजेको भन्दै केहीले कमेन्टसमेत गरेका छन् भने फुर्सदिला सांसद थारू सामाजिक सञ्जालमा आएको कमेन्टको जवाफ दिइरहेका छन्। जनताले राखेको समस्या समाधानका लागि पहल र काम  गर्नुको साटो उल्टै स्थानीय तहलाई सामाजिक सञ्जालमा प्रश्न गरेर जनताको प्रश्नबाट सांसद ठाकुरसिंह थारू भाग्न खोजेको देखिन्छ।

सुझावित समाचार