चितवनमा सबैभन्दा ठुलो पेट्रोलियम भण्डारगृह निर्माण सुरु

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण
  • लोथर नदीकिनारमा रहेको २५ बिघा जग्गामा ९१ हजार नौ सय किलोलिटर क्षमताको भण्डारगृह बनाउने योजनाअन्तर्गत पहिलो चरणको कामले लियो गति

नेपाल आयल निगमले चितवनको लोथरमा देशकै सबैभन्दा ठुलो पेट्रोलियम पदार्थको भण्डारगृह निर्माण कार्य सुरु गरेको छ । निगमले लोथरमा रहेको २५ बिघा सात धुर जग्गामा ९१ हजार नौ सय किलोलिटर क्षमताको पेट्रोलियम भण्डारण निर्माण गर्ने योजनाअनुसार प्रारम्भिक कार्य सुरु गरेको हो ।

योजनाअन्तर्गतको पहिलो चरणमा जग्गाको वरिपरि पर्खाल लगाउने र तीन फिटदेखि १२ फिटसम्म माटो हालेर जग्गा सम्याउने कार्यको बुधबार भूमिपूजा गरेर शिलान्यास गरिएको हो । आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारगृह निर्माण गर्ने सरकारको योजनाअन्तर्गत पूर्वाधार निर्माणलाई तीव्रता दिन थालिएको बताए । उनले भने, ‘बुधबार लोथरस्थित जग्गापरिसरमा भूमि पूजा गरेर पहिलो चरणमा आयल निगमले गर्नुपर्ने कामको शुभारम्भ भएको छ । यो काम समयमै सकेपछि भारतीय पक्षले पूर्वाधार निर्माणलाई तीव्रता दिनेछ ।’

लोथरस्थित पेट्रोलियम भण्डारगृह परियोजनाका प्रमुख तथा आयल निगमका उपनिर्देशक प्रदीप यादवले जग्गा सम्याउने र पर्खाल निर्माण गर्ने कार्यका लागि एकवर्षे ठेक्का सम्झौता भएपछि ६ देखि नौ महिनासम्ममा सक्ने दाबी गरे ।

ठुलो डिजेल भण्डारगृह बन्ने
बरालका अनुसार लोथरमा सबैभन्दा ठुलो डिजेल भण्डारण गर्ने पूर्वाधार बन्नेछ । यहाँ ४६ हजार पाँच सय किलोलिटरको डिजेल भण्डारण गर्ने स्टोरेज ट्यांक बन्नेछन् । १५ हजार पाँच सय किलोलिटर डिजेल अटाउने तीनवटा ठुला भर्टिकल ट्यांक बन्ने निगमले जनाएको छ । त्यस्तै, पेट्रोलका लागि ३३ हजार किलोलिटरको स्टोरेज ट्यांक बन्नेछ । ११ हजार किलोलिटर क्षमतका तीनवटा पेट्रोल ट्यांक बनाउने निगमको योजना छ । १० हजार आठ सय किलोलिटर क्षमताको हवाई इन्धन अटाउने स्टोरेज ट्यांकसमेत बन्नेछ । विमानस्थलपरिसरभन्दा बाहिर पहिलोपटक हवाइ इन्धनको भण्डारगृह बन्न लागेको हो । त्यस्तै, १६ सय किलोलिटर मट्टीतेल अटाउने स्टोरेज ट्यांक पनि बन्दै छन् ।

९ अर्ब ८० करोड लागत अनुमान
भण्डारगृह निर्माणका लागि नौ अर्ब ८० करोड रुपैयाँ प्रारम्भिक लागत अनुमान तयार गरिएको छ । उक्त रकम आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई दिने र आइओसीले टेन्डर गरेर लोथरमा आधुनिक ग्रिनफिल्ड टर्मिनल निर्माण गर्ने दुई देशका प्रधानमन्त्रीस्तरमा समझदारी भइसकेको छ । त्यस्तै, इन्धन ढुवानी गर्न आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जसम्म बिछ्याइएको पेट्रोलियम पाइपलाइनलाई लोथरसम्म विस्तार गर्ने निगमको योजना छ ।

अमलेखगन्ज–लोथर ६२ किलोमिटर लम्बाइ भएको पाइपलाइन बिछ्याउन आइओसीले यसअघि नै सर्भे गरिसकेको छ । उक्त पाइपलाइन निर्माणका लागि चार अर्ब २८ करोड रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएको छ । उक्त लागत आइओसीले व्यहोरेर पाइपलाइन निर्माण गर्ने दुई देशबिच समझदारी छ । यसरी पाइपलाइन र भण्डारगृह गरी कुल १४ अर्ब आठ करोड रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएको छ ।

सुझावित समाचार