ठुलो परिमाणको लागुऔषधसहित काठमाडौंको गाङखेलबाट तीनजना पक्राउ

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– १४, गाङखेलबाट सशस्त्र प्रहरी बल नेपालले ठुलो परिमाणको लाुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार शाह, बारा जिल्ला कलैया– ५ निवासी २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगा मानेभञ्ज्याङ– ५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका– ६ बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।

भारतबाट अवैध रूपमा नेपाल भित्र्याई लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषधका एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको BAC 7017 नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेका तीनैजनालाई बरामद लागुऔषध, नगद, मोटरसाइकल र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सुझावित समाचार