- केप भार्डेका डिफेन्डर सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध १०३औँ मिनेटमा गरेको गोल २३औँ संस्करणको विश्वकपकै सर्वोत्कृष्ट गोलका रूपमा रहेको फिफाले जनाएको छ
२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगितामा नवप्रवेशी केप भार्डेका डिफेन्डर सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको गोल सर्वोत्कृष्ट ठहरिएको छ । प्रतियोगिता सकिएको एक सातापछि फिफाले मंगलबार आधिकारिक रूपमा काब्रालको गोललाई ‘गोल अफ द टुर्नामेन्ट’ भनेको छ । उनले विश्वकपमा अर्जेन्टिनी कप्तान लियोनल मेसी र फ्रान्सका कप्तान केलियन एम्बाप्पेजस्ता उत्कृष्ट खेलाडीलाई समेत पछि पार्न सफल भएका छन् ।
प्रतिस्पर्धामा अर्जेन्टिनाले २–१ को अग्रता लिएको थियो । काब्रालले खेलको १०३औँ अर्जेन्टिनाविरुद्ध उत्कृष्ट गोल गरेका थिए । । तर, आत्मघाती गोलमा केप भार्डे अतिरिक्त समयमा पराजित हुँदै बाहिरिएको थियो । खेल अर्जेन्टिनाले अतिरिक्त समयम ३–२ जितेको थियो । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा फिफाको फ्यान भोटिङका आधारमा उज्वेकिस्तानका एल्डोर सोमुरोडोभको गोल उत्कृष्ट दोस्रो स्थानमा रहेको छ । हैटीका विल्सन इसिडोरको गोल तेस्रो स्थानमा रहेको फिफाले जनाएको छ ।
‘अर्जेन्टिनाविरुद्धको खेलमा काब्रालले गरेको सानदार गोल विश्वकपको सर्वोत्कृष्ट गोल घोषित गरिएको छ,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । फिफाका अनुसार अन्तिम ३२ को चरणमा अर्जेन्टिनाविरुद्ध २३ वर्षीय डिफेन्डर काब्रालले गरेको उत्कृष्ट गोलले ‘हुन्डाई गोल अफ दी टुर्नामेन्ट’को उपाधि जितेका छन् । काब्रालले अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरलाई छक्याउँदै डिबक्सबाहिरबाट प्रहार गरेको ‘कर्लिङ’ सटले गोलरक्षक एमिलियानो मार्टिनेजलाई मौका नदिई सिधै ‘टप कर्नर’को गोल भएको थियो । विश्वकपको उत्कृष्ट गोल सूचीमा जेम्स रोड्रिग्वेज, बेन्जामिन पाभार्ड र रिचार्लिसनजस्ता खेलाडीहरूको सूचीमा काब्राल पनि समावेश भएका छन् । जेम्स, बेन्जामिन र रिचार्लिसनले फरक–फरक संस्करणमा विश्वकपको प्रतिष्ठित अवार्ड जितेका थिए ।
पाँचौँ डिभिजन खेल्ने काब्राल
विश्वकपको डेब्युमै केप भार्डेले सनसनी प्रदर्शन गरेको थियो । विश्वकपमा आफ्नो पहिलो खेलमै केप भार्डेले स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । यसैगरी, दुईपटकको विजेता उरुग्वेलाई समेत बराबरीमा रोकेको केप भार्डेका लागि डिफेन्डर काभ्रालले डिफेन्स लाइनमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले विश्वकपमा प्राप्त सफलता कुनै कथाभन्दा कम छैन । तीन वर्षअघि उनी जर्मनीको पाँचौँ डिभिजनमा व्यावसायिक फुटबलमा आबद्ध थिए । ६५ हजार दर्शकले भरिएको मियामी रंगशालामा उनले साबिक विजेता अर्जेन्टिनाविरुद्ध राउन्ड अफ ३२ मा उत्कृष्ट गाल गरेका थिए । ‘मैले गोल गरेर माथि हेर्दा बल टप कर्नरमा जाँदै गरेको देखेँ,’ उनले फिफासँग भने, ‘मलाई त्यो गाल हुन्छ भन्ने विश्वासै लागेन किन भने अर्जेन्टिनामा गत संस्करणकै उत्कृष्ट गोलरक्षक बनेका मार्टिनज थिए ।’काभ्रालले गोलमा उनकी आमा भावुक भएर बेहोससमेत भएकी थिइन् । सो घटनालाई सन् १९९८ मा लिलियन थुरामकी आमा बेहोस भएको घटनासँग तुलना गरिएको छ ।
मार्सेलोबाट बधाई
विश्वकपमा राउन्ड अफ ३२ बाटै बाहिरिएको केप भार्डेका प्रत्येक खेलाडीलाई अहिले पनि बधाई आइरहेको छ । विशेषतः ४१ वर्षीय गोलरक्षक भोजिन्हा र डिफेन्डर काब्रालले सोसल मिडियामा बधाई प्राप्त गरिरहेका छन् । धेरैजसोले काब्रालको गोल चर्चा गरिरहेका छन् । यसमध्ये ब्राजिल र रियल म्याड्रिडका पूर्वखेलाडी मार्सेलोले उनलाई व्यक्तिगत रूपमा सन्देश पठाएर बधाई दिएका छन् ।
मार्सेलोले काब्राललाई डेब्यु विश्वकपमै उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘तिमी धेरै राम्रो खेलाडी हौँ, विश्वकपमा खेल हेर्दा खुसी लाग्यो,’ मार्सेलोले भने । रमाइलो पक्ष यस्तो छ कि काब्रालले आफ्नो आइकोनिक खेलाडीका रूपमा मार्सेलोलाई लिन्छन् । आफ्ना आदर्श खेलाडीबाट पाएको प्रशंसा काब्रालका लागि ठुलो उपलब्धि मानिएको छ ।