राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीसहित नेपालका पूर्वी जिल्लामा हालै भएका संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत पार्टी सभापति रवि लामिछानेले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
सभापति लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ।
रास्वपाले नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवाला पक्षलाई अफवाह र उत्तेजनाबाट टाढा रहन तथा साम्प्रदायिक वा सामाजिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन अपिल गरेको छ।
विज्ञप्तिमा वर्तमान संवेदनशील परिस्थितिमा शान्ति–सुरक्षा कायम राख्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र अवस्था सामान्य बनाउन सरकार तथा स्थानीय प्रशासनसँग पार्टीले आवश्यक सहजीकरण गरिरहेको उल्लेख गरिएको छ।
साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र शीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई उचित न्याय, क्षतिपूर्ति तथा निःशुल्क उपचारको व्यवस्था गर्न रास्वपाले सरकारसँग माग गरेको छ।
रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ।
यसैबीच, पार्टीले घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग आग्रह गरेको छ। साथै, रास्वपाका स्थानीय समिति र सम्पूर्ण कार्यकर्तालाई शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएको छ।
