सरकार गठनको लागि पहल थाल्दै नेकपाले बागमतीमा बनायो वार्ता टोली

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। एमाले र नेकपाबिच भएको सत्तासाझेदारीको सहमतिअनुसार सरकार गठनका लागि माओवादी केन्द्रले संसदीय दलको बैठकबाट वार्ता टोली गठन गरेको छ। 

यद्यपि, सरकार गठनको अंकगणित अझै अपुग रहेकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्णयलाई सबैभन्दा निर्णायक रूपमा हेरिएको छ। सोमबार हेटौँडामा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले एमालेसँग भएको राजनीतिक सहमति कार्यान्वयन गर्दै नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउने निर्णय गरेको हो।

बैठकले संसदीय दलका नेता शालिकराम जम्कट्टेलको संयोजकत्वमा पाँचसदस्यीय वार्ता टोलीसमेत गठन गरेको छ। टोलीमा कृष्ण खनाल, रत्न ढकाल, सरल सहयात्री र कुमारी मोक्तान सदस्य रहेका छन्।

बैठकपछि पत्रकारसँग कुरा गर्दै संसदीय दलका नेता जम्कट्टेलले प्रदेशमा सरकार गठनका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको बताए। उनले एमाले र नेकपाबिच साउन ९ गते भएको सहमतिअनुसार अब सरकार निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै राप्रपासँग सकारात्मक संवाद भइरहेको जानकारी दिए।

उनले अहिलेको प्रदेश सभा संरचनाले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएकाले सहकार्यबाहेक अर्को विकल्प नरहेको बताए। उनका अनुसार प्रदेशमा सरकार गठनका लागि एमाले, नेकपा र राप्रपाबिच सहकार्य हुने सम्भावना सबैभन्दा बलियो देखिएको छ।

जम्कट्टेलले राप्रपासँग सम्मानजनक ढंगले सहकार्य गर्ने प्रयास भइरहेको भन्दै पार्टीको औपचारिक निर्णय आएपछि मात्र सरकार गठनको प्रक्रिया निष्कर्षमा पुग्ने बताए। उनले राप्रपाको निर्णय सकारात्मक रहने अपेक्षा व्यक्त गरे पनि अन्तिम निर्णय भने सम्बन्धित दलले गर्ने स्पष्ट पारे।

यस्तै, संसदीय दलका सचेतक रत्न ढकालले बैठकले दुईवटा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिए। पहिलो, एमाले–माओवादीबीच भएको राजनीतिक सहमति कार्यान्वयन गर्दै बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउने । दोस्रो, सरकार गठनका लागि एमाले तथा अन्य दलसँग वार्ता र समन्वय गर्न पाँचसदस्यीय वार्ता टोली गठन गर्ने ।
ढकालका अनुसार वार्ता टोलीले एमालेसँगै राप्रपा, हाम्रो नेपाली पार्टी, नेपाल मजदुर किसान पार्टी लगायत प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग पनि संवाद अघि बढाउनेछ । उनले राप्रपासँगको प्रारम्भिक छलफल सकारात्मक रहेको दाबी गर्दै पार्टीको औपचारिक निर्णयपछि मात्र थप प्रक्रिया अघि बढ्ने बताए।

यद्यपि, उनले राप्रपा सरकारमा सहभागी नभए पनि सरकार गठनका अन्य विकल्पबारे समेत छलफल भइरहेको संकेत गरे। राप्रपालाई सँगै लिएर जाने हाम्रो पहिलो प्रयास हो। यदि त्यसो हुन सकेन भने पनि सरकार गठनका अन्य सम्भावनाबारे छलफल भइरहेको जानकारी उनले दिए।

बहुमतका लागि अझै अपुग अंकगणित

बागमती प्रदेश सभामा हाल ११० मध्ये ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन् । सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५ र माओवादी केन्द्रका २६ सांसद गरी दुई दलसँग ५१ मत मात्रै भएकाले बहुमत पुर्याउन अझै कम्तीमा दुई सांसदको समर्थन आवश्यक छ । यही कारण राप्रपाको समर्थन सरकार गठनको आधार बनेको छ ।

यदि राप्रपाले समर्थन गरे एमाले नेतृत्वमा नयाँ सरकार गठन सहज हुनेछ । अन्यथा बहुमत जुटाउने वैकल्पिक समीकरण खोज्नुपर्ने अवस्था आउनेछ । केन्द्रमा एमाले–माओवादीबिच भएको नयाँ सत्तासहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने समझदारी भइसकेको छ।

सुझावित समाचार