प्रश्नपत्र गोपनीयता भंग प्रकरणमा थप दुईजना पक्राउ

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत एमबिएस प्रथम सेमेस्टरको MGT 515: Organizational Behaviour विषयको प्रश्नपत्र सार्वजनिक गरेको घटनामा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

सिआइबीको प्रेस विज्ञप्तिअनुसार साउन १० गते रौतहटको राजदेवी नगरपालिका– ४ घर भएका २५ वर्षीय अतुलकुमार मिश्रलाई काठमाडौं महानगरपालिका– १३, ताहाचलबाट पक्राउ गरिएको हो।

त्यस्तै,  साउन ११ गते बारा लिपनीमाल– १ घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका– २१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिमलाई वीरगन्ज महानगरपालिका– ८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि पनि उक्त घटनामा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा साझा गरी गोपनीयता भंग गरेको आरोपमा थप अनुसन्धान जारी छ।

See More On

सुझावित समाचार