सुनसरीको देवानगन्जमा आइतबार भएको गोली काण्डको विरोधमा मंगलबार विराटनगर बजार बन्द भएको छ । सुरक्षा जोखिमले विराटनगर महानगरमा रहेका निजी र सामुदायिक विद्यालयहरू पनि खुलेनन् । मंगलबार बिहान खुलेका पसलहरू पनि दिउँसो प्रदर्शनकारीहरूले मोटरसाइकलमा प्रदर्शन गर्दै बन्द गराएका छन्।उनीहरूले विराटनगर बजारमा नारा–जुलुससहित प्रदर्शन गरेका छन्। हिन्दु सम्राट सेनाको आह्वानमा भएको बन्दले गर्दा विराटनगरमा साना–ठुला सवारीसाधन पनि चलेका छैनन्।
घटनाको विरोधमा प्रदर्शन हुन थालेपछि विराटनगरमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। आइतबार डिजे बाजाको निहुँमा सुनसरीमा हिंसात्मक घटना भएपछि मंगलबारदेखि मोरङमा प्रशासनले डिजेबाजा बजाउन रोक लगाएको छ। अर्को सूचना नभएसम्मका लागि अब मोरङका कुनै पनि स्थान र उत्सवहरूमा डिजे बजाउन प्रशासनको अनुमति लिनुपर्नेछ।
देवानगन्ज गाउँपालिका– ३ को कप्तानगन्ज बजारमा आइतबार राति बोलबम यात्राका लागि डिजेबाजा बजाउने–नबजाउने विवादमा स्थानीय दुई समूहबिच भएको झडपमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु र नौजना गम्भीर भएको घटनापछि हिन्दु सम्राट सेना मोरङले सोमबार अपराह्न विराटनगरमा प्रदर्शन गर्दै मंगलबार बन्दको आह्वान गरेको थियो।
आइतबार सुनसरीको कप्तानगन्जमा भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर देवानगन्ज– ४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने नौजना गोली लागेर गम्भीर घाइते भएका थिए। घटनामा १४ जना प्रहरी पनि घाइते भएका थिए । घटनापछि सुनसरीको दक्षिणी क्षेत्रमा सोमबार दिनभरि कर्फ्यु लागेको थियो। घटनाको गृह मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको समितिले छानबिन थालेको छ ।