सुनसरीको कप्तानगन्ज गोलीकाण्डबारे नेकपाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा साउन ११ गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनामा सुरक्षाकर्मीले जथाभावी गोली चलाउँदा देवानगन्ज गाउँपालिका– ४ का ओमप्रकाश मेहताको मृत्यु भएको तथा दर्जनभन्दा बढी व्यक्ति गम्भीर घाइते भएको दाबी गर्दै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

साउन १२ गते जारी प्रेस विज्ञप्तिमा पार्टीले दुई पक्षबिचको विवादलाई राज्य पक्षले संयमित रूपमा समाधान गर्नुपर्नेमा रातिको समयमा गोली चलाएर नागरिकको ज्यान लिनु गम्भीर सुरक्षा लापरबाही भएको ठहर गरेको छ। विज्ञप्तिमा मृतक मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

पार्टीले घटनास्थलको अवस्थालाई मध्यनजर गर्दै प्रहरी प्रशासनले समन्वय, सतर्कता र जिम्मेवारीका साथ काम गर्नुपर्नेमा घातक हतियार प्रयोग गरी निहत्था नागरिकमाथि गोली चलाइएको आरोप लगाएको छ। यसलाई मानव अधिकार उल्लंघन तथा गैरन्यायिक हत्याको उदाहरण भएको दाबी गर्दै सरकारले घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने उल्लेख गरिएको छ।

नेकपाले मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न तथा घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ।

विज्ञप्तिमा थप तनाव सिर्जना हुन नदिन, वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक सदभाव कायम राख्न सरकार, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मानव अधिकारकर्मी र स्थानीय समुदायलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरिएको छ।

सुझावित समाचार