चिकित्सक आन्दोलनले हेटौँडा अस्पतालको ओपिडी ठप्प, उपचारका लागि आएका बिरामीलाई समस्या

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार हेटौँडा अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ। चिकित्सकको आन्दोलनका कारण उपचारका लागि बिहानैदेखि अस्पताल पुगेका सयौँ सेवाग्राही उपचार नपाई फर्किन बाध्य भएका छन् ।

ओपिडी सेवा पूर्ण रूपमा बन्द हुँदा नियमित स्वास्थ्य परीक्षण, फलोअप, विशेषज्ञ चिकित्सकको परामर्श तथा अन्य नियमित उपचारका लागि आएका बिरामीलाई समस्या परेको छ। कतिपय बिरामी बिहानैदेखि लाइनमा बसे पनि सेवा नपाएपछि निराश हुँदै घर फर्किन बाध्य भएका छन्। यद्यपि, आकस्मिक सेवा, इमर्जेन्सी उपचार तथा भर्ना भएका बिरामीको उपचार भने नियमित रूपमा सञ्चालन गरिएको हेटौँडा अस्पतालले जनाएको छ ।

नेपाल चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै साउन १२ गते देशभरका सरकारी तथा निजी अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा स्थगित गर्ने निर्णय गरेको थियो। संघका अनुसार साउन ९ गते वीरगन्जको नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सा‌ंघातिक आक्रमण भएको थियो । घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको छ भने अस्पताल परिसरमा तोडफोडसमेत गरिएको थियो ।

संघले चिकित्सकमाथिको आक्रमण, अस्पतालमा भएको तोडफोडको भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न, साथै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथिसमेत छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेको छ। चिकित्सक संघले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने चेतावनी दिएको छ।
 

सुझावित समाचार