नारायणी अस्पतालमा कार्यरत चिकित्सकले धमाधम अहिले राजीनामा दिन थालेका छन् । अहिलेसम्म ३० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए ।
उनका अनुसार ७० जना चिकित्सक रहेको यस अस्पतालका ३० जनाले सोमबार राति १० बजे नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् ।
गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनामा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन् ।
बाँकी ४० जनाले पनि राजीनामाका लागि अहिले नाम संकलन गरी हस्ताक्षर गरिरहेका छन् । प्रदर्शन गरिरहेका चिकित्सकले दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र अस्पताललाई सुरक्षित कार्य वातावरणको माग गरेका छन् ।
यस्तै, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रमसमेत गर्ने जनाएको छ ।
गत ९ साउनमा नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । उक्त घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै चिकित्सक संघले विरोधस्वरूप अस्पताल बन्द गर्ने घोषणा गरेको हो ।
साथै, संघले दोषीलाई कारबाहीको माग गर्दा प्रहरीले उल्टै संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र संघको नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकलाई गालीगलौज तथा दुर्व्यवहार गरिएको भन्दै भर्त्सना पनि गरेको छ।
स्वास्थ्य सेवा अवरुद्ध नगर्न सबै अस्पताललाई मन्त्रालयको अपिल
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मंगलबार सबै अस्पताललाई स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको हो। मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने स्पष्ट पारेको छ।
विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै नागरिकको उपचार सेवामा अवरोध नपुर्याई स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै अस्पताललाई अपिल गरिएको छ।